दुलेगौंडा, १५ पुष
तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित ‘पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार’–२०८२ का लागि छनौट समिति चयन गरिएको छ ।
रेडियोका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा सल्लाहकार समितिसहित सोमवार रेडियो परिसरमा सम्पन्न कार्य समिति बैठकले पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरेको हो । समिति सदस्यहरुमा रेडियोका निवर्तमान अध्यक्षसमेत रहेका ऋषेश्वर भुवाई ‘ऋतु’, र सल्लाहकार कृष्ण प्रसाद पौडेल ‘पिके’ रहेका छन् ।
तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति गरि तीन विधामा सम्मान गरिने सञ्चालक समितिका सचिव टिकाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार खोजमुलक पत्रकारितामा कलम चलाउने पत्रकारलाई प्राथमिकता दिईने छ ।
रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई वार्षिक रुपमा नगदसहित चौथो पटक आगामी पुष ७ गते पुरस्कृत गर्न लागिएको अध्यक्ष शिव पौडेलले बताए । शुक्लागण्डकी–२ भुजिकोटमा हुने रेडियोको दशौं वार्षिक साधारणसभाका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा उनीहरुलाई सम्मान गरिने स्टेसन मेनेजर राजन उपाध्यायले जानकारी दिए । पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ ।स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो । तनहुँको दुलेगौंडाबाट प्रशारण भइरहेको रेडियो २०७३ सालमा स्थापना भएको हो । साधारणसभा सम्पन्न गर्न कोषाध्यक्ष राजेन्द्र पौडेलको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।



