– माधब प्रसाद अधिकारी

“लुतो लैजा… पाखुरीकोटे…!
लुतो लैजा… नागीधारे…!
लुतो लैजा… गिलिए…!
लुतो लैजा… टक्सरे…!”
आज पनि कहिलेकाहीँ रातको सन्नाटामा ती आवाजहरू कानमा गुञ्जिएझैँ लाग्छ। आँखाले वर्तमान देखे पनि मन भने एकाएक चार दशकभन्दा धेरै पछाडि पुगिहाल्छ। त्यो बेलाको गोर्जे गाउँ, कच्ची घर, खरका छाना, धुरीबाट उडेको धुवाँ, असारको हिलो, खेतको सिमाना, तुलसीको मोठ र साउने संक्रान्तिको साँझ—सबै चलचित्रझैँ आँखाअगाडि नाच्न थाल्छन्।
समयले धेरै कुरा बदलिदियो। गाउँ बदलियो, घरहरू बदलिए, मानिसको जीवनशैली बदलियो। तर सम्झनाको त्यो कुनो अझै उस्तै छ। जहाँ साउने संक्रान्ति आउनु भनेको नयाँ महिनाको सुरुवात मात्र होइन, गाउँभरि खुसी, विश्वास, संस्कार र आत्मीयताको एउटा ठूलो पर्व आउनु थियो।
हामी साना थियौँ। साउन एक गते कहिले आउला भनेर दिन गनेर बस्ने। अहिलेका बालबालिकाले नयाँ मोबाइल, नयाँ लुगा वा घुम्न जाने दिन कुर्छन् होला, हामी भने लुतो फाल्ने दिन कुर्थ्यौँ।
त्यो बेला गाउँघरमा घाउ–खटिरा निकै आउँथे। टाउकोभरि खटिरा, ज्यानभरि घाउ। रातभरि घर्याङघर्याङ कनाइरहनुपर्थ्यो। अहिले सम्झँदा लाग्छ—सरसफाइको कमी, वर्षायामको संक्रमण र स्वास्थ्य चेतनाको अभावले त्यस्तो भएको हुनुपर्छ। तर त्यतिबेला हामीलाई रोगको कारण थाहा थिएन। हामीलाई त यत्ति मात्र थाहा थियो—साउन एक गते लुतो फालियो भने रोग पनि जान्छ।

आज विज्ञानले चर्मरोग, संक्रमण, ब्याक्टेरिया र सरसफाइको कुरा गर्छ। तर हाम्रा पुर्खाले विज्ञानका किताब नपढीकनै व्यवहारमा त्यो ज्ञान उतारिसकेका रहेछन्। यही सोच्दा उनीहरूको बुद्धि र अनुभवप्रति मन श्रद्धाले झुक्छ।

लुतो फाल्ने तयारी—बालापनको सबैभन्दा ठूलो जिम्मेवारी
साउने संक्रान्ति आउनुभन्दा केही दिनअघिदेखि नै हाम्रो दौडधुप सुरु हुन्थ्यो। कसैले लुत्ते झार खोज्थ्यो, कसैले सिउँडी, कसैले सिरु, कसैले कुरिलो। केराको पात, सुप्लो, बेतलौरी, पानीसरो, सिठा, गाईको गोबर, सर्स्यु, तोरी, घरमा भएका अन्नका दाना, सुन्तला, निबुवा, ज्यामिर, बिलौतीका जोली—यी सबै सामग्री जुटाउनुपर्ने हुन्थ्यो।

साथीहरूबीच तछाडमछाड नै चल्थ्यो।

“तैले के भेट्टाइस्?”

“मैले यो ल्याएँ।”

कतिले आफूले पाएको कुरा लुकाउँथे। सायद आफूले मात्र राम्रो ल्याएको देखाउन चाहन्थे। तर मेरो बानी भने अर्कै थियो। सानैदेखि कामलाई पछि सार्ने बानी थिएन। गर्ने भनेपछि तुरुन्तै गर्ने। दुई–चार घण्टामै सबै सामान जुटाइसक्थेँ। आज पनि त्यो बानी धेरै हदसम्म उस्तै छ। त्यसैले होला, आज पनि कुनै जिम्मेवारी आयो भने सकेसम्म ढिलो नगरी पूरा गर्न खोज्छु।

पाखुरीकोटको बन्दुक र गाउँको अनुशासन

बेलुका बुबा रोपाइँ सकेर घर फर्किनुहुन्थ्यो। हजुरआमाले पूजा सामग्री सबै मिलाएर तयार राख्नुभएको हुन्थ्यो।

तर एउटा अनौठो नियम थियो।

पाखुरीकोटमा बन्दुक नपड्केसम्म पूजा सुरु हुँदैनथ्यो।

कोटमा बन्दुक पड्किएपछि मात्र सबै गाउँमा पूजा सुरु हुन्थ्यो। कसले पड्काउँथ्यो, किन त्यहीँबाट सुरु भयो—हामीलाई थाहा थिएन। तर त्यो एउटा अलिखित नियम थियो, जसलाई कसैले उल्लङ्घन गर्दैनथ्यो।

त्यो आवाज कास्की मात्र होइन, लमजुङका धेरै गाउँसम्म सुनिन्थ्यो। आवाज सुन्नासाथ सबैले आफ्नो–आफ्नो तयारी सुरु गर्थे। अहिले मोबाइलको एउटा सन्देशले काम चल्छ। त्यतिबेला एउटा बन्दुकको आवाजले दर्जनौँ गाउँलाई एउटै समयमा जोडिदिन्थ्यो। सोच्दा लाग्छ, त्यो पनि कस्तो अद्भुत सामाजिक सञ्जाल रहेछ!

“लुतो लैजा…” भन्ने त्यो स्वर

तुलसीको मोठमा विधिपूर्वक पूजा गरेपछि बुबाले आगोको अगुल्टो धुरीमाथिबाट फाल्नुहुन्थ्यो।

त्यसैसँग ठूलो स्वरमा गाउँहरूको नाम लिएर भन्नुहुन्थ्यो—

“लुतो लैजा… पाखुरीकोटे…!
लुतो लैजा… नागीधारे…!
लुतो लैजा… रबैडाँडे…!
लुतो लैजा… सिङ्देली…!
लुतो लैजा… पसगाम्ले…!
लुतो लैजा… कुम्लुङ्गे…!
लुतो लैजा… चरगाउँले…!
लुतो लैजा… गिलिए…!
लुतो लैजा… टक्सरे…!
लुतो लैजा… गहतेली…!
लुतो लैजा… मुग्रेली…!”

उता उनीहरूले पनि हामीतिर त्यसै गरी लुतो पठाउँथे।

यो रोग साटासाट गर्ने चलन थिएन, दुःख साटासाट गर्ने विश्वास थियो। गाउँ–गाउँबीचको सम्बन्धलाई जीवित राख्ने एउटा मौलिक संस्कार थियो।

अनदीको लट्टे खिर र परिवारको मिलन

लुतो फालिसकेपछि घरमा पाक्ने परिकारको स्वाद आज पनि जिब्रोले बिर्सेको छैन। विशेष गरेर अनदीको लट्टे खिर।

असारभरि खेतमा पसिना बगाएको शरीरलाई त्यो खिरले जति मिठास दिन्थ्यो, त्यति स्वाद संसारका महँगा परिकारमा पनि भेटिन्न।

त्यो भोजन केवल पेट भर्ने कुरा थिएन। त्यो परिवारलाई एउटै थालमा बसाउने संस्कार थियो। हाँसो, ठट्टा, गीत, कथा र आत्मीयताले भरिएको साँझ थियो।

तिग्रे—खेल कि घरेलु औषधि?

साउने संक्रान्तिको रात तिग्रे लगाउने चलन पनि उस्तै रमाइलो थियो।

कर्कलाको पात, दलिनको कालो भाग, मुसाको लिड, मकरकाजेको पात ढिकीमा कुटेर हातमा लगाइन्थ्यो।

बिहान उठ्नेबित्तिकै कसको हात रातो भयो भनेर हेर्ने प्रतिस्पर्धा चल्थ्यो।

त्यतिबेला त्यो केवल खेल लाग्थ्यो। अहिले बुझ्दा त्यो घरेलु औषधि रहेछ। हाम्रा पुर्खाले वनस्पतिको गुण प्रयोग गरेर शरीरलाई रोगबाट जोगाउने उपाय बनाएका रहेछन्।

पुर्खाको ज्ञान—आज विज्ञानले पुष्टि गरेको सत्य

आज हामी विज्ञानको कुरा गर्छौं। अनुसन्धानको कुरा गर्छौं।

तर हाम्रा पुर्खाले मौसम, स्वास्थ्य, कृषि, वनस्पति र समाजलाई एउटै संस्कारमा गाँसेर जीवन चलाएका रहेछन्।

सूर्य दक्षिणायन लाग्ने दिन, वर्षायामको संक्रमण, चर्मरोगको जोखिम, सरसफाइको आवश्यकता, परिवारको मिलन, गाउँको एकता र प्रकृतिप्रतिको सम्मान—यी सबै कुरा एउटै पर्वमा समेटिनु सामान्य कुरा होइन।

यसैले लाग्छ, उनीहरू अशिक्षित थिए होलान्, तर अज्ञानी थिएनन्। किताब पढेका थिएनन्, तर प्रकृतिलाई पढेका थिए।

आजको पुस्तालाई एउटा आग्रह

समयसँगै परिवर्तन हुनु स्वाभाविक हो। तर परिवर्तनका नाममा आफ्ना जरा बिर्सनु बुद्धिमानी होइन।

हामीले आफ्ना छोराछोरीलाई अंग्रेजी सिकायौँ, कम्प्युटर सिकायौँ, संसार चिनायौँ। अब उनीहरूलाई आफ्नो गाउँ, आफ्नो संस्कार, आफ्नो मौलिक परम्परा पनि चिनाउनु हाम्रो दायित्व हो।

किनकि संस्कृति हरायो भने इतिहास हराउँछ। इतिहास हरायो भने पहिचान हराउँछ।

अन्त्यमा…

आज पनि साउने संक्रान्ति आउँछ। शिवालयमा घण्टी बज्छ। भक्तजन व्रत बस्छन्। कतै लुतो फालिन्छ, कतै तिग्रे लगाइन्छ।
तर मेरा लागि साउने संक्रान्ति भनेको एउटा तिथि मात्र होइन।

यो मेरो बाल्यकाल हो।

यो मेरो बुबाको आवाज हो।

यो हजुरआमाको माया हो।

यो गोर्जे गाउँको धुरीबाट उडेको आगो हो।

यो पाखुरीकोटमा पड्किएको बन्दुकको गर्जन हो।

यो असारको पसिनापछि आएको सन्तोष हो।

यो पुर्खाको ज्ञान हो।

यो गाउँको आत्मा हो।

यी परम्पराहरू जोगिए भने मात्र हाम्रो पहिचान जोगिन्छ। त्यसैले साउने संक्रान्तिलाई केवल पर्वका रूपमा होइन, हाम्रो सभ्यता, संस्कार र पुर्खाको अमूल्य सम्पदाका रूपमा संरक्षण गरौँ। यही नै भावी पुस्ताप्रति हाम्रो सबैभन्दा ठूलो उत्तरदायित्व हुनेछ।

सबै नेपालीमा साउने संक्रान्तिको हार्दिक मंगलमय शुभकामना।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।