– माधब प्रसाद अधिकारी
असार १५ नेपाली किसानका लागि केवल पात्रोको एउटा मिति होइन, यो खेतबारीको उत्सव, श्रमको सम्मान, गाउँले सभ्यताको पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनपद्धतिको जीवित इतिहास हो सबैले बुझ्नु जरुरि छ । केहि बर्ष यता सरकारले यसलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ, पहिले यस्ता औपचारिक कार्यक्रम थिएन। त्यो त हली, बाउसे, खेताली, अर्मपर्म, कुलो, कुलेसो, बियाड खलेगरो, दही–चिउरा,दोपरे , हिलो र आत्मीय सम्बन्धले बनेको गाउँको सबैभन्दा ठूलो पर्व थियो।

आजभोलिको खेतीपाती ५०–६० वर्षअघिको जस्तो छैन। काठे हलोको ठाउँ फलामे हलोले लियो, फलामे हलोको ठाउँ पनि अहिले घर–घरमा पुगेका साना हाते ट्याक्टरले लिइसके। त्यससँगै गोरु नार्न चाहिने जुवा, फाली, हरिस, करुवा, ठेडी, सोइलो, जोतार, छालाको नारा जस्ता कृषि सामग्रीहरू पनि विस्तारै इतिहासका पानामा सीमित हुँदै गएका छन्। दुई–तीन महिना मात्र जोतेर वर्षभरि गोरु पाल्नुपर्ने बाध्यता हट्यो, तर त्यससँगै गाउँका मौलिक सीप, परम्परा र कृषि संस्कृतिको एउटा अध्याय पनि हराउँदै गयो।

एक समय गाउँमा हलो, जुवा र दादे बनाउने मान्छे ठूलो सम्मान थियो। हामीले थाहा पाउँदासम्म एउटा हलो बनाउन दुई पाथी धान र जुवा तथा दादे बनाउन तीन पाथी धान ज्याला दिने चलन थियो। पछि धानको सट्टा नगद कारोबार हुन थाल्यो। त्यतिबेला हलो तयार पार्नुलाई “हलो बाँध्ने” भनिन्थ्यो। हलीहरू रोपाइँ सुरु हुनुभन्दा १०–१५ दिनअघि जंगलमा गएर हलो काटेर ल्याउँथे चिलाउने र साल हलो राम्रो मानिन्थ्यो भने काइय को काठ को जुवा बनाउदा हलुङ्गो हुन्छ भन्थ्ये । हार्मो तिर स्यौरुम र कोलमराङका जडन खेतका लागि एउटा हलो, मकैबारीका लागि अर्को हलो बनाइन्थ्यो।। औसी र पुर्णिमा मा हल चल्दैन थियो परेली लगाउने चलन ६० दिन को सम्म बालि असार र साउन त पुरै रोपाई अन्तिम मा कसैको गारो सगुरो पर्यो भने सगाउने (सहयोग ) चलन यी सबै कृषि ज्ञान अनुभवले सिकाएको विज्ञान थियो

हामीले थाहा पाउँदासम्म कतिपय गाउँमा गीत गाउँदै, मादल बजाउँदै रोपाइँ गर्ने चलन पनि थियो। हाम्रो गोर्जे गाउँमा त्यस्तो तामझाम कमै देखिए पनि छिमेकी गाउँमा रमाइलो भयो भन्ने कुरा मेलामा दोपरे खाजा खाने बेला गफको मुख्य विषय हुन्थ्यो। अरू बेला त कराकर गफ गर्ने फुर्सद नै कहाँ हुन्थ्यो र !

हिलो पस्ने दिन आफ्ना कुल झाक्री सम्झिएर देवताको धुप–धिमर गरिन्थ्यो। त्यसपछि पहिलो रोपारले खलेगरोको बीचभागमा भकारी आकारको गोलो घेरा बनाएर धानको बिउ रोप्थ्यो। खेतधनीको टाउकोमा बिउ घुसारिदिने चलन पनि थियो, जसलाई शुभ संकेत मानिन्थ्यो। प्रकृति, धर्म र श्रमको यस्तो अद्भुत संगम अहिले सम्झनामा मात्र बाँकी छ।

बर्खाभरिको सबैभन्दा रोचक दिन भनेकै असार १५ थियो। त्यस दिन अलि पुराना लुगा लगाएर मेला जाने, दिउँसो एक बजेतिरदेखि हिलो खेल्ने, बलिया युवाहरूले हिलो छ्यापाछ्याप गर्ने, साथीहरूलाई हिलोमै गाडिदिने, लुकामारी खेल्ने—यी सबै दृश्यले गाउँ नै हाँसिरहेको जस्तो लाग्थ्यो। त्यसैले गाउँघरमा असार १५ लाई “हिलो खेल्ने चाड” पनि भनिन्थ्यो। जसले जसलाई हिलो छ्यापे पनि रिसाउने चलन थिएन। हिलो नै त्यो दिनको प्रेम, मित्रता र आत्मीयताको प्रतीक थियो।

दिउँसो दोपहरतिर दोपरे खाजा बाँडिन्थ्यो। गाउँकै ढिकीमा कुटेको चिउरा, चामलको पुवा, खिउनी दही, सेलरोटी र गाउँघरमै उत्पादन भएका परिकारको स्वाद शब्दले बयान गर्न सकिँदैन। धेरै घरमा चिनी हुँदैनथ्यो, त्यसको सट्टा उखुको खुदो राखिन्थ्यो। अहिलेजस्तो बजारका चाउचाउ, चाउमिन, भुजा र प्याकेटका खानेकुरा थिएनन्। हली, बाउसे, खेताली सबैले सालको टपरी र दुनामा अचार–तरकारीसँगै दोपरे खाजा खाने चलन थियो। प्लास्टिकका भाँडा थिएनन्, प्रकृतिले दिएको साल को टपरी र दुना नै पर्याप्त थियो।

असार १५ मा आफ्नै घरमा नभए पनि खोजीखोजी दही–चिउरा खाने चलन थियो। त्यो संस्कार आज पनि बाँकी छ। तर अहिले कुर्सीमा बसेर रोपाइँ के हो भन्ने अनुभवसमेत नभएका मानिसहरूले सामाजिक सञ्जालका लागि दही–चिउरा खोज्दै हिँडेको देख्दा समय कति बदलियो भन्ने अनुभूति हुन्छ।

हाम्रो पाला सम्म घडीको प्रयोग सुरु भइसकेको थियो। तर बा–हजुरबुबाको पालामा समयलाई एक पहर, दोपहर, तीन पहर र चार पहर भनेर छुट्याइन्थ्यो। त्यसैले दुई पहर कटेपछि खाने खाजालाई दोपरे भनिएको रहेछ। नियमित खानामा धानको भात, गुन्द्रुक र भट्ट भुर्लुक उमालेर खाने चलन थियो कहिले कहिले फर्सी मुन्टा र दुदे कर्कला को अचार को स्वाद लिन पाइन्थ्यो । अहिले भने बोइलर कुखुरा र एक बोतल………… बिना धेरै ठाउँमा रोपाइँको भोज अधुरो मानिन्छ। गाउँमा काम गर्ने मान्छे कम भए, भएकाहरूले पनि रोजेको ज्याला र खाजा अनिवार्यजस्तै भएको छ। पातलेको भात, दुदेकरकलोको अचार, गुन्द्रुक–भट्टको झोलको स्वाद त धेरैले बिर्सिसके होलान्।

गोर्जे गाउँमा सिँचाइको अभाव आज पनि उस्तै छ। अधिकांश खेती आकाशे पानीकै भरमा चल्छ। स्यौरुम, कोलमराङ, लौसीबोट, सिस्नेरी, जल्क्यानी र रुम्तोतिर एकपटक राम्रो पानी परेपछि मूल आउने भएकाले रोपाइँ सजिलो हुन्थ्यो। तर टारी र बारीका खेतमा घैया धान र कागुनो खेती गरिन्थ्यो यी खेत मा आकासे पनि परेन भने कुनै बर्ष त् बाझै हुन्थ्ये । घैया धान र कागुनोखेती हिउँदमै छरिन्थ्यो र धेरै पानी पनि चाहिँदैनथ्यो। आज ती बाली गाउँबाटै लोप हुने अवस्थामा पुगेका छन्।

५०–६० जना महिला मिलेर घैया र कागुनो गोडेको दृश्य अझै आँखामा ताजै छ। घैया गोड्ने खेतालालाई भुटेको वा उसिनेको मकै, गहुँ, सादेको गुन्द्रुक र नुन–खुर्सानी दिउसो खाजा को रुपमा प्रयोग गरिन्त्यो । सबै काम अर्मपर्ममा हुन्थ्यो। पैसा दिएर खेताला लगाउने चलन थिएन। त्यतिबेला गाउघर मा बस्ने परिवारको मुख्य खाद्यान्न नै घैया कागुनु र कोदो थियो। परिवार ठूलो हुथ्यो धानको भात खान रहर लाग्थ्यो। त्यसैले मकैको भात र कागुनोको भातलाई ककरी–मकरी खाने भन्ने चलन थियो। हुनेखानेले पनि धान बेचेर ककरी–मकरी खान्थे। कसैको रहर कसैको बाध्यता तर खासै भिन्नता हुन्थ्येन

बूढापाकाको एउटा उखान आज पनि सान्दर्भिक लाग्छ—”असार १५ र मङ्सिर १५, मुत्ने फुर्सद पनि हुँदैन।” साँच्चै, त्यो बेला मानिस घरमा भन्दा बढी खेत बारीमा भेटिन्थे। गाउँको जग्गाको यति महत्व थियो कि कान्लो अलिकति पहिरोले लगे पनि सानो फोगटो बनाएर एक पुली धान रोपिन्थ्यो। आज त्यही उर्वर जमिन बाँझै छ। सिंहदरबार, मुख्यमन्त्री कार्यालय र पालिकाहरूमा असार १५ को औपचारिक उत्सव मनाइरहँदा वास्तविक किसानको मनमा कति पीडा होला, त्यो अनुभूति गर्न सक्नेहरू कमै छन्।

असार १५ सम्झिँदा कुलोको पानीको पालोमा हुने झगडा पनि उत्तिकै जीवन्त भएर आउँछ। उपल्लो गराको पानी बंग्लंग फोरेर तल ल्याइन्थ्यो। कुलोको पानी कसले पहिले लगाउने भन्ने विषयमा बुढापाकाबीच चर्काचर्की हुन्थ्यो—”तेरो बाउको मात्र पानी हो?” “आइज,………… यही कोदालाको पासोले टाउको फुटाइदिउँला धेरै निउ नखोज भन्ने जस्ता झर्रा शब्द तर अहिले सम्म त्यसो अप्रिय घटना भने घटेको थाहा पाइएन ” हामी साना केटाकेटीलाई त्यो झगडा हेर्न औधि रमाइलो लाग्थ्यो। बुढा पाकको उखानै थियो—”रोपाइँको पानीमा परेको कल र स्वास्नीसँग परेको कल उस्तै उस्तै झगडा परलको आगो झैँ चाँडै निभिहाल्थ्यो। पनि पर्यो भने त बिहान ४ बजे नै हल नार्नु पर्ने कहिले कहिले त बेलुका ८ बाजे सम्म पनि हिले गरामा आली लगाउदै हुन्थ्येउ बिचरा रोपार खेतली हरु त रति १२ बजे सम्म दर्कदो झरी मा स्वा स्वा फ्वा फ्वा आउथ्ये ति निर्दोस गोरु मान्छे ले जता भन्यो उतै एक मुठो घास को भरमा दिनभर ८ १० घण्टा जोत्नु पर्ने ति दिन को सम्झना मा अजै ताजा छ l

प्रायः हरेक असार १५ मा म आफैँ रोपाइँमै हुन्थेँ। तर एक बाली पुरै रोपेको वर्ष भने २०५४ साल थियो। त्यो बेला मसँग रामचन्द्र अधिकारी र विजयराज अधिकारी हुनुहुन्थ्यो। आज उहाँहरू आ–आफ्नो क्षेत्रमा स्थापित हुनुहुन्छ रामचन्द्र जनहित मा.वि मुस्तांगमा प्रा अ को जिमेवारीमा हुनुहुन्छ क्यारे बिजय त् अमेरिका तिर , तर त्यो असार १५ को सम्झना भने हामी सबैका मनमा उस्तै ताजा छ। मैले यहाँ लेखेका यी प्रसङ्गहरू केवल सुनेका कथा होइनन्, आफ्नै जीवनले भोगेका यथार्थ हुन्।

आज समय फेरिएको छ। हलो, जुवा, दादे, फाली, हरिस, करुवा, ठेडी, सोइलो, जोतार, छालाको नारा, हली, बाउसे,कोदाली ,स्याखु खेताली, बियाडगरो, खालेगरो, फोगोटो आली कान्ला छेउ कुनो कुलो, कुलेसो, परेली र अर्मपर्म जोत्दा जोत्दै भुलेर छोडिने राटो, जस्ता शब्द अहिलेको पुस्तालाई सुनायो भने उनीहरू अचम्म मान्छन्। तर यी शब्द ठाउँ अनुसार फरक नाम ले चिनिन सक्छन तर पनि यस्ता कृषि सामग्री वा कामका नाम मात्र होइनन्, यी त नेपाली गाउँले सभ्यताको शब्दकोश हुन्।

कृषिमा आधुनिक प्रविधि आउनु आवश्यक छ, तर त्यससँगै किसानको सम्मान, परम्परागत ज्ञान, स्थानीय बाली, अर्मपर्मको संस्कृति र गाउँको आत्मालाई पनि जोगाउनु जरुरी छ। तब मात्र सरकारले घोषणा गरेको राष्ट्रिय धान दिवस र असार १५ ले आफ्नो वास्तविक सार्थकता प्राप्त गर्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।