पोखरा, असाेज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा कास्की क्षेत्र नं. ३ मा पार्टी चार समूहमा विभाजित हुने अवस्था बनेको छ। महाधिवेशनलाई लिएर कांग्रेस पार्टीभित्र त्यस्ताे अवस्था आएकाे पत्रकार गंगाधर पराजुलीकाे भनाइ छ।
असोज ३ गतेदेखि हुने भनिएको महाधिवेशन प्रक्रियालाई लिएर हालको संस्थापन पक्षबाट कास्की–३ मा दुईवटा समूह बन्ने करिब निश्चित देखिएको छ। यी दुई समूहको नेतृत्व एकातर्फ पार्टीका जिल्ला उपसभापति युवराज कुँवरले गर्नेछन् भने अर्कोतर्फ क्षेत्रीय सभापति मनोज गुरुङले गर्ने करिब निश्चित भएको छ।
दुवै समूहले क्षेत्रीय समिति तथा क्षेत्रबाट निर्वाचित हुने अधिकांश पदमा प्यानल बनाएर प्रतिस्पर्धा गर्ने तयारी थालेका छन्।
यसैगरी असोज १५ पछि महाधिवेशन प्रक्रिया सुरु गर्ने तयारीमा देउवा समर्थक अर्को समूह बनेको छ। त्यस्तै, नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्काको जस्तै कुनै पनि महाधिवेशन प्रक्रियामा सहभागी नबन्ने अर्को समूह पनि बनेको छ।
यी घटनाक्रमसँगै कास्की–३ मा नेपाली कांग्रेसभित्र चारवटा समूह स्पष्ट रूपमा देखिएकाे पार्टीका नेताहरुले बताएका छन् ।


