तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका युवा नेता सुशील तिमल्सेनाले निर्वाचनको परिणामलाई सहर्ष स्वीकार गर्दै पार्टी, समाज र जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसके पनि तिमल्सेनाले आफूलाई विश्वास गरेर अमूल्य मत प्रदान गर्ने सम्पूर्ण प्रतिनिधि, अग्रज नेता, साथीभाइ तथा शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
विशेषगरी नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधिप्रति धन्यवाद व्यक्त गर्दै उनले आफूलाई यस स्थानसम्म आइपुग्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेका छन्। प्रतिनिधिहरूबाट प्राप्त माया, विश्वास र सद्भावले आगामी राजनीतिक यात्रामा अझ जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्न प्रेरणा मिलेको उनको भनाइ छ।
‘यस पटकको परिणामले मन अवश्य भावुक बनाएको छ, तर मेरो राजनीतिक निष्ठा, सामाजिक प्रतिबद्धता र पार्टीप्रतिको समर्पणलाई कत्ति पनि कमजोर बनाएको छैन,’ तिमल्सेनाले आफ्नो सन्देशमा भनेका छन्, ‘बरु, यस अनुभवले आगामी दिनमा अझ परिपक्व, जिम्मेवार र सक्रिय भएर अघि बढ्ने ऊर्जा प्रदान गरेको छ।’
लोकतन्त्रमा जित र हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै तिमल्सेनाले निर्वाचनको परिणामलाई सहर्ष स्वीकार गरेका छन्। आफ्नो राजनीतिक यात्रा कुनै पद वा परिणाममा मात्र सीमित नरहेको स्पष्ट पार्दै उनले नेपाली कांग्रेसलाई एकताबद्ध, सुदृढ र समयानुकूल बनाउने अभियानमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचन अभियानका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, अग्रज नेता, साथीभाइ, दिदीबहिनी तथा शुभचिन्तकप्रति उनले सम्मान र कृतज्ञता व्यक्त गरेका छन्।
यसैबीच, गण्डकी प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित किरणबाबु श्रेष्ठ, खुमा प्रसाद अर्याल र रेशमबहादुर बानियाँलाई तिमल्सेनाले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
‘यो अन्त्य होइन, नयाँ सुरुवात हो,’ तिमल्सेनाले भनेका छन्, ‘तपाईंहरूले दिनुभएको माया, विश्वास र साथलाई शक्तिमा बदल्दै आगामी दिनमा अझ दृढ संकल्पका साथ पार्टी, समाज र जनताको सेवामा समर्पित रहनेछु।’
जनताको सेवा नै आफ्नो राजनीतिक यात्राको मूल उद्देश्य रहेको उल्लेख गर्दै उनले प्राप्त विश्वासलाई आगामी दिनमा काम र योगदानमार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘यहाँहरूको विश्वास नै मेरो शक्ति हो, साथ नै मेरो प्रेरणा हो र जनताको सेवा नै मेरो राजनीतिक यात्राको मूल उद्देश्य हो,’ तिमल्सेनाले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।


