शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाका भीष्म श्रेष्ठले आफ्नो २६औँ जन्मदिनको अवसरमा शुक्लागण्डकी नगरपालिका–१० स्थित शुक्ला आधारभूत विद्यालयका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेका छन्।
श्रेष्ठ शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुखका स्वकीय सचिव, नेपाली काँग्रेस शुक्लागण्डकी नगर कार्यसमितिका सह–सचिव तथा साथी इन्स्टिच्युटका निर्देशक समेत हुन्। उनले विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरूलाई विभिन्न खेलकुद र शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।
श्रेष्ठले जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै भने,
“जन्मदिन हँसिलो केक र शुभकामनामा मात्र सीमित हुन आवश्यक छैन। आज म आफ्नो खुसी यी बालबालिकासँग बाँड्दै समाजप्रतिको सानो दायित्व पूरा गरेको महसुस गर्दैछु। यो हाम्रो साझा भविष्यप्रतिको लगानी हो। यदि प्रत्येकले आफ्नो विशेष दिनमा समाजका लागि सानो कदम चाल्यो भने हाम्रो समुदाय अझ समृद्ध र उज्यालो बन्नेछ।”
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु गुरुङ ‘महत’, वडा सदस्य विमल राना मगर, युवा समाजसेवी सुनिल तिमिल्सेना, गोविन्द मगर लगायतको उपस्थिती थियो।