दमौली, १६ भदौ ।
सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले जनप्रतिनिधि र कर्मचारीलाई जनताको आवाज सुन्न र समस्या समाधानमा गम्भीर बन्न आग्रह गरेका छन्।
जिल्ला समन्वय समिति तनहुँले सोमबार दमौलीमा आयोजना गरेको वार्षिक प्रगतिसमीक्षा कार्यक्रममा बोल्दै सांसद भण्डारीले जनप्रतिनिधि र कर्मचारीले जनताको गुनासो उपेक्षा गर्दा सर्वसाधारणले धेरै सास्ती भोगिरहेको बताए।
“जनप्रतिनिधि र कर्मचारीले जनताका समस्या र गुनासा पहिचान गर्नुपर्छ, समाधानतर्फ ठोस पहल गर्नुपर्छ,” भण्डारीले भने। उनले तीनै तहका सरकारबीच समन्वयको अभावले विकास योजनाहरू अलपत्र पर्ने र जनताले प्रत्यक्ष लाभ लिन नसकेको उल्लेख गरे।
कार्यक्रम जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो । समीक्षा कार्यक्रम मंगलबारसम्म चल्नेछ।