काठमाडौँ, भदौ १२ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत तथा विकास सहायतातर्फका प्रमुख मथियास माइयरबीच आज मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ।
भेटमा मन्त्री न्यौपानेले सन् १९५६ देखि नेपाल–स्वीट्जरल्याण्डबीच कायम रहँदै आएको मित्रवत् सम्बन्धप्रति खुशी व्यक्त गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा स्वीस विकास सहायता (SDC) को योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले कोशी र बागमती प्रदेशका नगरपालिकाहरूको आन्तरिक राजस्व अभिवृद्धि गर्न अर्थ मन्त्रालयसँग सहकार्यमा परियोजना दस्तावेज तयार भइरहेको र यसले स्थानीय तह सबलीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP) दोस्रो चरणमा प्रविष्ट भएको प्रसङ्गमा मन्त्री न्यौपानेले पहिलो चरणको अनुभवका आधारमा दोस्रो चरण अझ प्रभावकारी हुने आशा व्यक्त गर्नुभयो। साथै, स्वीस सरकार, युरोपेली संघलगायत विकास साझेदारहरूप्रति निरन्तर सहयोगका लागि धन्यवाद दिनुभयो।
सो अवसरमा कार्यवाहक राजदूत माइयरले मन्त्री न्यौपानेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मन्त्रालयसँगको सहकार्यप्रति आभार प्रकट गर्नुभयो। उहाँले PLGSP दोस्रो चरणलाई संघीयता सुदृढीकरण र स्थानीय शासन सबलीकरणको मुख्य आधारका रूपमा व्याख्या गर्दै यसमा मन्त्रीज्यूको सक्रिय सहभागिता अपेक्षा गरिएको बताउनुभयो।
भेटघाटको अन्त्यमा मन्त्री न्यौपानेले नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धलाई अझ प्रगाढ बनाउन आफू सधैं तत्पर रहने उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धित विषयमा सहजीकरण र समन्वयका लागि खुला रहने आश्वासन दिनुभयो।