तनहुँ
जिल्ला खेलकुद विकास समिति तनहुँ र जिल्ला भलिबल संघ तनहुँको संयुक्त आयोजनामा ऐतिहासिक राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। विभागीय टिमसहित सातै प्रदेशका प्रतिनिधि टोली गरी १० टिमको सहभागितामा प्रतियोगिता आगामी २०८२कार्तिक १८ देखि २२ गतेसम्म दमौली खेल मैदानमा सञ्चालन हुने आयोजक समितिले जनाएको छ।
जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेका अनुसार यस राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगितामा नेपालका शीर्षस्तरका खेलाडीहरू सहभागी हुनेछन्। प्रतियोगिता व्यवस्थित र भव्य बनाउनका लागि मैदान तयारी, आवास–खानापान, सुरक्षा, स्वास्थ्य सेवा, प्रचार–प्रसार लगायत सम्पूर्ण पूर्वाधार तयारी कार्य अगाडि बढाइएको बताए ।
जिल्ला खेलकुद विकास समिति तनहुँका कोषाध्यक्ष कबिराज श्रेष्ठले खेलकुदको माध्यमबाट तनहुँको पहिचान बढाउन, युवामाखेलप्रतिको आकर्षण जगाउन र राष्ट्रिय स्तरमा जिल्लाको नाम चिनाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनले प्रतियोगिता सफल पार्न आर्थिक, नैतिक तथा भौतिक सहयोगका लागि खेलप्रेमी, नागरिक समाज, व्यवसायी, पत्रकार, बुद्धिजीवी, सरकारी निकाय, स्थानीय, प्रदेश तथा संघीय सरकारका साथै विदेशमा रहेका तनहुँवासी आदरणीय व्यक्तित्वहरूलाई सहयोगका लागि आग्रह गरेकाछन्।
प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट सर्वर, उत्कृष्ट सेट्टर, उत्कृष्ट अट्याकर र उत्कृष्ट डिफेन्स खेलाडीलाई पनि विशेष सम्मान गरिने जिल्ला खेलकुद विकास समिति तनहुँका सदस्य मनोज कुमार सुवर्णकारले जानकारी दिएका छन् ।



