साउन १४, घिरिङ ।
घिरिङ गाउँपालिकाले ग्रामीण क्षेत्रमा पहिलो पटक अल्ट्रासाउण्ड सेवा शुभारम्भ गरेको छ। बुधबार एक कार्यक्रम आयोजना गरी गाउँपालिकाको समन्वयमा गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त करिब १७ लाख रुपैयाँ बराबरको भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) मेसिन सुन्धारा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष होम बहादुर थापाले वडा नं. ३ का अध्यक्ष तहलसिं थापालाई मेसिन हस्तान्तरण गर्दै सेवाको औपचारिक शुभारम्भ गरेका थिए। सो अवसरमा स्वास्थ्य चौकीमा उपस्थित गर्भवती महिलाहरूको परीक्षण गर्दै सेवा सुरु गरिएको थियो।
अध्यक्ष थापाले टाढा अस्पताल धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले सेवा सुरु गरिएको उल्लेख गर्दै गर्भवती महिलाहरूले कम्तीमा आठपटक नियमित परीक्षण गरेमा सरकारले उपलब्ध गराउने सबै सुविधा पाउने स्पष्ट पारे। उनले भिडियो एक्स–रे सेवाको सदुपयोग गर्न आग्रह गर्दै सुत्केरी हुने बेलामा अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्नेमा जोड दिए।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालका अनुसार हरेक बुधबार नियमित रूपमा अल्ट्रासाउण्ड सेवा उपलब्ध गराइनेछ। साथै, आवश्यकताका आधारमा अन्य स्वास्थ्य चौकीहरूमा पनि विस्तार गर्ने योजना रहेको जानकारी उनले दिए।
कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य पार्वती बिक, ईश्वरी श्रेष्ठ, वडा सदस्य लोकबहादुर गुरुङ, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख रिमालले गरेका थिए भने स्वागत मन्तव्य सुन्धारा स्वास्थ्य चौकीका प्रमुख प्रितम थापाले राखेका थिए।