पोखरा १७ स्थित छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नाममा कालोमोसो दलिएपछि यहाँका दर्जन संघसंस्थाले विज्ञप्ति निकालेर घटनाको घोर भर्त्सना गरेका छन् ।

सामाजिक सञ्जालमा पनि घटनाप्रति सर्वसाधारणले चर्को विरोध गरेका छन् । तीन दशक लामो समय पढाएका गुरुमाथि विद्यार्थीकै नाममा अपराधिक हर्कत भएको भन्दै विद्यार्थी संगठन र पूर्व विद्यार्थीहरुले पनि विज्ञप्ति निकालेर भर्त्सना गरेका छन् ।

धमेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत)सँग आवद्ध अनेरास्ववियू (क्रान्तिकारी) गण्डकी प्रदेश समितिका ईञ्चार्ज राजन साउदको नेतृत्वमा गएको टोलीले छोरेपाटन माविका विव्यस अध्यक्ष तथा पूर्व सहायक प्रधानाध्यापक पहारीमाथि कालोमसी पोखेका थिए । पहारी शुक्रबार बिहान निवासबाट विद्यालयतर्फ जाँदै गर्दा उक्त घटना भएको थियो ।

कालोमोसो दल्न लगाउने मुख्य योजनाकार सुजन विकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ भने घटनामा संलग्न दुई जना विरुद्ध पनि पक्राउ पूर्जी जारी गरी प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीले नेकपा बहुमतका पोलिटब्युरो सदस्य तथा युवा संगठनको फ्याक्सन इञ्चार्ज समेत रहेका विकलाइ शुक्रबार साँझ पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाका अनुसार बिककै योजना र निर्देशनमा कालोमोसो दलिएको देखिएकोले पक्राउ गरी अभद्र मुद्धामा अनुसन्धान अगाडि बढाइएको छ ।

विक माओवादी केन्द्रबाट विभाजन भएको वैद्य समूह (मोहन वैद्य), विप्लप समूह (नेत्रविक्रम चन्द) हुँदै अहिले विप्लवबाट पनि विभाजन भएको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतमा आवद्ध भएका हुन् ।

कालोमोसो दलेपछि विज्ञप्ति जारी गर्दै बहुमतनिकट विद्यार्थी संगठनले जिम्मेवारी लिएको थियो भने पहारी र प्रधानाध्यापकसमेतलाई राजीनामा दिन र कारबाही गर्नसमेत माग गरेको थियो ।

पातले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई ठेक्कामा दिने निर्णयमा हस्ताक्षर गरेको भन्दै उनीहरुले पहारीमाथि कालोमसी छर्केका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।