पोखरा, ९ कात्तिक।  पोखराको लथालिङ्ग सडक र बेथितिलाई लिएर सामाजिक सञ्जालमा ‘मिस्टर मन’ का रूपमा चर्चित युवा मन क्षेत्रीले सुरु गरेको निस्वार्थ सडक मर्मत अभियानले अहिले जनस्तरमा ठुलो बहस सिर्जना गरेको छ। रोजगारीका लागि खाडी मुलुकमा रहेका क्षेत्री केही दिनको बिदामा घर फर्किएका बेला पोखराका खाल्डाखुल्डी पुर्ने र सडकपेटी रङ्गाउने कार्यमा सक्रिय छन्।
यसै सन्दर्भलाई जोड्दै नेपाली कांग्रेस पोखराका युवा नेता गणेश बहादुर थापाले सहरको बेथिति र स्थानीय जनप्रतिनिधिहरूको उदासीनतामाथि गम्भीर प्रश्न उठाएका छन् । सामाजिक संजाल फेसबुकमार्फत युवा नेता थापाले प्रश्न गरेका हुन् । उनकाे प्रश्न छ — राज्यको स्रोतसाधन र अधिकारसम्म पहुँच भएका, जनताको साथ र विश्वास पाएका जनप्रतिनिधिहरूले केही दिनको बिदामा घर फर्किएको एउटा युवाले आफ्नो सीमित स्रोत र समय खर्चेर सहर सुधारका लागि गरिरहेको यो प्रयास देख्दा के सोच्दा हुन्?
पहेंलो ज्याकेट लगाएर सडकका खाल्डा टाल्दै हिँडेका क्षेत्रीको विषयमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हालै टिप्पणी गरेका थिए। मेयर आचार्यले भनेका थिए, “एकजना भाइ चाहिँ त्यो पहेंलो ज्याकेट लगाएर ठाउँ-ठाउँमा खाल्डा पुर्दै गरेको देख्छु। त्यस्तो खाल्डा पुर्ने हो भने त हामीले ४ घण्टाभित्रै मान्छे ल्याएर पुरिदिन सक्छौं।”
मेयर आचार्यले प्राविधिक मापदण्ड, प्रक्रिया र सुरक्षा व्यवस्था विना अलकत्रा (पिच) को काम गर्दा जोखिम हुने तर्क समेत गरेका थिए । उनकाे तर्कलाई लिएर सामाजिक संजालमा व्यापक प्रतिक्रिया उत्पन्न भएकाे थियाे । ‘मिस्टर मन’काे अभियानप्रति व्यापक जनसमर्थन देखिएपछि मेयर आचार्यले थप टिप्पणी गर्न सकेका छैनन् ।
के छ मन क्षेत्रीको चाहना?
मन क्षेत्रीले पोखराको व्यस्त व्यापारिक केन्द्र महेन्द्रपुलको पुलमा रङ लगाउनेदेखि सडकका खाल्डाखुल्डी पुर्ने र सडकपेटीका सवारी सङ्केतहरू सुधार गर्ने काम गरिरहेका छन्। उनले भत्किएका सडक, वर्षायाममा मानिस नै निल्न सक्ने खुला नाला र अवैधानिक ढङ्गले निर्माण गरिएका सडक डिभाइडरका समस्या भिडियो सन्देशमार्फत जनता र सरोकारवालासम्म पुर्‍याउँदै आएका छन्।
क्षेत्रीको चाहना एउटै छ—आफ्नो सानो प्रयासले भए पनि सडक दुर्घटना कम होऊन्, कम्तीमा एक जना नागरिकले पनि अङ्गभङ्ग हुन नपरोस् र खुला नालामा परेर कुनै परिवारले आफ्नो प्रियजन गुमाउन नपरोस्।
सहरप्रतिको जिम्मेवारी कसको?
कांग्रेस युवा नेता थापाका अनुसार सहर बनाउने मुख्य जिम्मेवारी जनप्रतिनिधिको हो, तर सहरप्रतिको जिम्मेवारी सबै नागरिकको पनि हो। फरक यति हो—कसैले आफ्नो जिम्मेवारी पद र अधिकारमार्फत पूरा गर्नुपर्छ, कसैले आफ्नो विवेक र सामर्थ्यले।
उनले क्षेत्रीको निस्वार्थ प्रयासलाई उद्धृत गर्दै भनेका छन्, “पुर्न नसकिएका भत्किएका सडक, वर्षायाममा मानिस नै निल्न सक्ने खुला नाला र अवैज्ञानिक ढङ्गले निर्माण गरिएका सडक डिभाइडरका समस्या उनले भिडियो सन्देशमार्फत जनता र सरोकारवालासम्म पुर्‍याइरहेका छन्। रोजगारीका लागि फेरि खाडी मुलुक नफर्किएसम्म उनी पोखरा सहरको सुधारका लागि निरन्तर लागिरहनेछन्।”
प्रवासी युवा क्षेत्री फेरि खाडी मुलुक नफर्किएसम्म पोखरा सहरको सुधारका लागि निरन्तर लागिरहने दृढता व्यक्त गरिरहँदा अब पोखराका जनप्रतिनिधिहरूले यी युवाको प्रयासबाट प्रेरणा लिनेछन् कि आफ्नो जिम्मेवारीप्रति गम्भीर भएर सोच्नेछन् भन्ने कुरा मुख्य चासोको विषय बनेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।