दमौली । नेपाली कांग्रेस तनहुँका वर्तमान सभापति एवं क्षेत्र नं. १ का उम्मेदवार बैकुण्ठ न्यौपानेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा क्षेत्रका विभिन्न तहमा निर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिएका छन् ।
बिहीबार एक अपिल जारी गर्दै न्यौपानेले सर्वसम्मत वा निर्वाचित भएका सम्पूर्ण प्रतिनिधिहरूलाई बधाई दिँदै निर्वाचनमा केही अग्रज एवं प्रतिभावान् व्यक्तिहरू निर्वाचित हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् ।
उनले निर्वाचन अभियानमा भएका कमी–कमजोरीलाई महसुस गर्दै आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई ध्यानमा राखेर पार्टीका विभिन्न तहमा निर्वाचित साथीहरूले अग्रजप्रति सम्मान गर्दै पार्टी संगठनलाई सुदृढ एवं अनुशासित बनाउन आग्रह गरेका छन् ।
न्यौपानेले जिल्ला, प्रदेश र केन्द्रका निर्वाचनमा आन्तरिक प्रतिस्पर्धालाई आत्मसाथ गर्दै पार्टीभित्रका मतभेदलाई विभिन्न चरणमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै, निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने निर्वाचन समितिका पदाधिकारी तथा सदस्यसहित सबैलाई धन्यवाद दिँदै उनले क्षेत्र नं. १ को निर्वाचनका क्रममा सबैसँग व्यक्तिगत रूपमा मत माग्न र सम्पर्कमा आउन नसकेकोमा क्षमायाचना गरेका छन् ।
उनले आफूलाई विवेकपूर्ण मतदान गरी विजयी गराउने सम्पूर्ण मतदाता तथा शुभेच्छुकप्रति समेत हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
मिति : २०८३/०६/१५
बैकुण्ठ न्यौपाने
वर्तमान सभापति तथा उम्मेदवार
नेपाली कांग्रेस, तनहुँ


