दमौली । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँमा जिल्ला संयोजकको जिम्मेवारी पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य प्राडा कृष्णप्रसाद गौतमले पाएका छन्।
डा. शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेस १५औँ महाधिवेशन आयोजक तयारी समितिले गौतमलाई तनहुँ जिल्ला संयोजकको जिम्मेवारी दिएको हो। कांग्रेसको महाधिवेशन प्रक्रिया वडा तहबाट सुरु भइसकेको छ।
नेपाली कांग्रेस तनहुँका पूर्व सचिव एवं महासमिति सदस्य गौतमलाई जिल्लामा अधिवेशनसम्बन्धी आवश्यक समन्वय, सहजीकरण तथा संगठनात्मक गतिविधिलाई अघि बढाउने जिम्मेवारी दिइएको जनाइएको छ।
महाधिवेशन तयारी समितिले वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका अघि बढाएको छ। तनहुँमा जिल्ला अधिवेशन कार्तिक १५ गते गर्ने तयारी रहेको छ।
जिल्ला संयोजकको जिम्मेवारी पाएपछि गौतमले नेपाली कांग्रेसको स्थापित मूल्य–मान्यता र विधानअनुसार अधिवेशन प्रक्रिया सम्पन्न गर्न भूमिका खेल्ने बताइएको छ।
गौतमको संयोजकत्वमा तनहुँमा १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन तथा संगठनात्मक गतिविधि सञ्चालनका लागि आवश्यक समन्वय हुने अपेक्षा गरिएको छ। कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै विभिन्न जिल्लामा जिल्ला संयोजक तोक्ने क्रमसमेत अघि बढेको छ।


