तनहुँ । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन–२०८३ अन्तर्गत सम्बन्धित गणको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंको आयोजनामा भएको कार्यदक्षता मूल्याङ्कनका क्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहसहितको टोलीले गणको निरीक्षण गरेको हो।

निरीक्षणका क्रममा गणअन्तर्गतका विभिन्न शाखा तथा भौतिक संरचनाको अवस्थाबारे अवलोकन गरिएको थियो। साथै, ‘Stand-to’ अभ्यास तथा खोंचमा फसेको व्यक्तिको खोज तथा उद्धारसम्बन्धी प्रदर्शनीसमेत अवलोकन गरिएको थियो।

कार्यक्रममा गणप्रमुखले गणको समग्र अवस्था, गतिविधि तथा कार्यसम्पादनसम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गरेका थिए। प्रस्तुतीकरणपछि प्रहरी अतिरिक्त महानिरीक्षक शाहले गणमा कार्यरत सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरूलाई आवश्यक निर्देशन तथा मार्गदर्शन प्रदान गरेका थिए।

कार्यदक्षता मूल्याङ्कनले प्रहरी संगठनको कार्यसम्पादन, अनुशासन, तयारी अवस्था तथा व्यावसायिक दक्षताको मूल्याङ्कन गर्न सहयोग पुग्ने जनाइएको छ।


