भदौ २९, बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–२ थारुबासमा आयोजित बन्दीपुरकै सर्वाधिक पुरस्कार राशिको ‘नवौं गोरखकाली (जिवाइसी) कप–२०८३’ गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि हरिनास गाउँपालिका–६ ले जितेको छ।
सोमबार हरितालिका तीजका दिन भएको फाइनल खेलमा हरिनास–६ ले आयोजक गोरखकाली युवा क्लब बन्दीपुर–४ भुमर्सेलाई बेस्ट अफ फाइभमा लगातार तीन सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। आयोजक गोरखकाली युवा क्लब उपविजेता बन्यो।

तेस्रो स्थानका लागि भएको खेलमा सेराटार युवा क्लब बन्दीपुरले मिलिजुली युवा क्लब खहरेलाई पाँच सेटको प्रतिस्पर्धामा पराजित गर्यो। पहिलो र दोस्रो सेट सेराटारले जिते पनि तेस्रो र चौथो सेट मिलिजुलीले जितेको थियो। निर्णायक पाँचौं सेटमा जित निकाल्दै सेराटार तेस्रो बन्यो।
उपाधिसँगै हरिनास–६ ले रु. १ लाख १ हजार १ सय ११, उपविजेता आयोजक गोरखकाली युवा क्लबले रु. ५१ हजार १ सय ११ र तेस्रो भएको सेराटार युवा क्लबले रु. ३१ हजार १ सय ११ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा सेराटारका सुगम सुनार उत्कृष्ट सटर, गोरखकालीका संगीत मानन्धर उत्कृष्ट क्लिन अट्याकर, सुभाष थापा उत्कृष्ट डिफेन्डर र सुशील खड्का उत्कृष्ट स्पाइकर घोषित भए। यस्तै विक्की गुरुङ उत्कृष्ट टिम कोच र विकल थापा उत्कृष्ट खेलाडी घोषित भए।
प्रतियोगिताका क्रममा गोरखकाली युवा क्लबका पूर्वअध्यक्ष स्वर्गीय यामबहादुर थापाकी छोरीलाई रु. २० हजार आर्थिक सहयोग समेत प्रदान गरिएको थियो।
समापन कार्यक्रममा बन्दीपुर गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले गाउँस्तरमा हुने प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेलाडीलाई प्रोत्साहन र भलिबलको विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापा, नेपाल मगर सङ्घका उपमहासचिव सिद्धान्त गर्जा मगर, बन्दीपुर–३ का अध्यक्ष परमेश्वर भट्टराई, बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष बैंशबहादुर गुरुङलगायतले खेलकुदमार्फत युवाको क्षमता विकास र स्थानीय प्रतिभालाई अवसर दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बन्दीपुर–२ का अध्यक्ष तिलकबहादुर कुँवर ‘सुशील’, विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलप्रेमी, प्रहरी तथा पत्रकारको उपस्थिति थियो। कार्यक्रम गोरखकाली युवा क्लबका अध्यक्ष बुद्धि थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव सुदिन पौडेलले गर्नुभएको थियो।


