दमौली । देशभर खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको असहजताप्रति ध्यानाकर्षण गराउँदै तनहुँका विभिन्न संघ–संस्थाले सरकारसमक्ष तत्काल आपूर्ति सहज बनाउन माग गरेका छन्।

दमौलीका विभिन्न सामाजिक तथा पेशागत संस्थाका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षण–पत्र पठाउँदै ग्यास अभावका कारण सर्वसाधारणको जनजीवन प्रभावित भएको बताएका हुन्।ध्यानाकर्षण–पत्रमा खाना पकाउने ग्यासको सहज आपूर्ति नहुँदा नागरिक भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै ग्यास आपूर्तिमा देखिएको असहजताको अन्त्य गर्न सरकारसँग माग गरिएको छ।

पत्रमा दमौलीमा अनशनरत माधवप्रसाद अधिकारीले उठाएका मागप्रति ऐक्यबद्धता जनाउँदै उनका माग सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। अधिकारीले ग्यास आपूर्तिमा देखिएको समस्या समाधान तथा जनताको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राख्दै अनशन थालेका हुन्।

त्यस्तै, ध्यानाकर्षण–पत्रमा सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत विद्युत् लगायत विभिन्न क्षेत्रमा नेपाली जनताको जनजीविकामाथि थप भार पर्ने गरी कर लगाउने नीति लिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। नेपालको संविधानले सुनिश्चित गरेको मौलिक हक विपरीत हुने कुनै पनि कार्य नगर्न सरकारलाई आग्रह गरिएको छ।

ग्यास तथा रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न, कालोबजारी र महँगी नियन्त्रण गर्न तथा जनताका आधारभूत आवश्यकतासँग सम्बन्धित विषय तत्काल सम्बोधन गर्न पनि सरकारसमक्ष माग गरिएको छ।

ध्यानाकर्षण–पत्र बुझाउन श्रीराम कार्कि, सुजना सिक्देल, सरलादेवी श्रेष्ठ, कविराज श्रेष्ठ, पूर्ण वि.के., सुरेश परी, डिपी अधिकारी,  उज्ज्वल पौडेल, मदन तिमल्सेना  लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।