तनहुँ, १८ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर समितिले आफ्नो सदस्यता खारेजीका लागि सिफारिस गरेको निर्णयप्रति महाधिवेशन प्रतिनिधि राजु दाहालले गम्भीर आपत्ति जनाएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दाहालले आफूमाथि तथ्य र प्रमाणबिना आरोप लगाएर निर्णय प्रक्रियालाई अघि बढाइएको भन्दै त्यसलाई लोकतान्त्रिक मूल्य, प्राकृतिक न्याय र संगठनात्मक मर्यादाविपरीत भएको बताएका छन्।
दाहालले आफूले व्यावसायिक कारण देखाउँदै पार्टीबाट विश्राम लिँदा दिएको निवेदन तथा पुनः सदस्यता नवीकरणका लागि दिएको निवेदन सार्वजनिक गर्न चुनौती दिएका छन्। ती निवेदनको मर्मविपरीत कपोलकल्पित र मनगढन्ते विवरण राखी कारबाही प्रक्रिया अघि बढाइएको उनको दाबी छ।
उनले रास्वपाको सुरुवाती चरणदेखि सक्रिय र इमानदार युवा कार्यकर्ताप्रति पक्षपातपूर्ण व्यवहार भएको आरोप लगाएका छन्। साथै, निर्वाचनका क्रममा पार्टी र तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेप्रति कटाक्ष गर्ने व्यक्तिहरूलाई पुरस्कृत गरिएको, उच्च तहमा मनोनयन गरिएको तथा सीमित व्यक्तिको पदलोलुपताका कारण पार्टीभित्र गुटबन्दी मौलाएको आरोप पनि लगाएका छन्।
दाहालले आफूहरू अन्यायको मौन दर्शक नबन्ने उल्लेख गर्दै सत्य, न्याय र लोकतान्त्रिक मूल्यको पक्षमा आवश्यक परे कानुनी तथा लोकतान्त्रिक सबै माध्यमबाट प्रतिकार गर्ने चेतावनी दिएका छन्।
उनले परिवर्तनका पक्षधर युवाहरूलाई एकताबद्ध रहन आग्रह गर्दै आफ्नो अभियान पार्टीविरुद्ध नभई पार्टीभित्र देखिएको गलत प्रवृत्तिविरुद्ध रहेको स्पष्ट पारेका छन्।
यसअघि रास्वपा व्यास नगर समितिले दाहालमाथि पार्टी हितविपरीत गतिविधि, गुटबन्दी तथा संगठनात्मक अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै उनको सदस्यता खारेजीका लागि जिल्ला कार्यसमितिमार्फत अनुशासन आयोगमा सिफारिस गरेको जनाएको थियो।


