दमौली, १५ साउन। तनहुँको दमौलीस्थित वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान र दमौली मुस्लिम समाजले धार्मिक सद्भाव, सामाजिक एकता तथा शान्ति कायम राख्न संयुक्त विज्ञप्तिमार्फत सबैमा अपिल गरेका छन्।
शुक्रबार जारी संयुक्त विज्ञप्तिमा विगतदेखि समाजमा कायम रहेको आपसी सद्भाव र शान्तिपूर्ण सहअस्तित्वलाई निरन्तरता दिनुपर्ने उल्लेख गरिएको छ। पछिल्लो समय समाजलाई गलत दिशातर्फ लैजान सक्ने गतिविधिप्रति सचेत रहन आग्रह गर्दै सबै नागरिकलाई संयमित र जिम्मेवार व्यवहार गर्न अनुरोध गरिएको छ।
विज्ञप्तिमा आफू सुरक्षित रहँदै परिवार, समाज तथा संस्थालाई पनि सुरक्षित राख्ने दायित्व सबैको भएको उल्लेख गर्दै सामाजिक सद्भावलाई पुस्तान्तरण गर्नु आजको आवश्यकता भएको जनाइएको छ।
त्यसैगरी, केही दिनपछि आयोजना हुने कार्यक्रममा सबै समुदाय, परिवार तथा संस्थाको सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ। कुनै पनि धर्म, समुदाय वा सामाजिक सद्भावमा असर पुग्ने खालका गतिविधि वा अभिव्यक्ति नगर्न दुवै संस्थाले हार्दिक अपिल गरेका छन्।
संयुक्त विज्ञप्तिमा दमौली मुस्लिम समाजका अध्यक्ष हाजी जमाल दिन मिया र वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका अध्यक्ष धर्माचार्य सद्गुरु खेमराज जय श्री हरिले हस्ताक्षर गरेका छन्।


