दमौली, १२ साउन ।
तनहुँ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य ई. श्रीराम न्यौपानेले देशभरका अव्यवस्थित बसोबासीहरूको दीर्घकालीन व्यवस्थापन तथा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरणको कानुनी आधार तयार गर्न ‘वस्ती विकास ऐन’ निर्माणको पहल गर्न कानुनमन्त्रीसमक्ष अनुरोध गरेका छन्।
सांसद न्यौपानेले भिमाद बजार, ढोरफिर्दी लगायत सार्वजनिक जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकहरूको समस्या समाधानका लागि नयाँ अवधारणासहित ‘वस्ती विकास ऐन’ निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अनुरोधपत्र हस्तान्तरण गरेका हुन्।
उनका अनुसार विद्यमान कानुनी व्यवस्थाको समीक्षा गर्दै अव्यवस्थित बसोबासको व्यवस्थापन, आवश्यक कानुनी उपचार तथा ऐनमार्फत लालपुर्जा उपलब्ध गराउने सम्भावनाबारे कानुनमन्त्रीसँग विस्तृत छलफल भएको थियो। यसअघि पनि उनले भूमि व्यवस्था मन्त्री तथा भवन विभागका महानिर्देशकसँग यस विषयमा परामर्श गरिसकेको जानकारी दिएका छन्।
छलफलका क्रममा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै नागरिकको आवासीय सुरक्षाको सुनिश्चितता गर्ने, सार्वजनिक जग्गाको उचित व्यवस्थापन गर्ने तथा दीर्घकालीन समाधानका लागि स्पष्ट कानुनी आधार निर्माण गर्नुपर्ने विषयमा विशेष जोड दिइएको सांसद न्यौपानेले बताएका छन्।
सांसद न्यौपानेले ‘वस्ती विकास ऐन’ निर्माण भएमा वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा बसोबास गरिरहेका हजारौँ नागरिकको समस्या समाधानतर्फ महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरेका छन्।


