दमौली, तनहुँ। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँले ३२औँ विश्व आदिवासी दिवस तीन दिनसम्म विविध कार्यक्रमका साथ मनाउने भएको छ।
अध्यक्ष सनम तामाङको अध्यक्षतामा सम्पन्न बैठकले “प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता” भन्ने मूल नारासहित श्रावण २२ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।
कार्यक्रमअन्तर्गत श्रावण २२ गते सरकारी तथा गैरसरकारी संस्था, राजनीतिक दल तथा सम्बन्धित निकायसँग आदिवासी जनजातिको हक–अधिकार र आईएलओसम्बन्धी अन्तरक्रिया तथा गोष्ठी आयोजना गरिनेछ।
त्यसैगरी श्रावण २३ गते माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने महासंघले जनाएको छ।
यस्तै श्रावण २४ गते तनहुँका १० वटै स्थानीय तहमा झाँकी र्यालीसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइने जनाइएको छ।


