तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुलस्थित दमौली–भोर्लेटार भित्री सडकखण्डमा आज दिउँसो बस दुर्घटना भएको छ।
आज अपराह्न करिब ३:१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा चालक शम्सेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १७ जनाको टोली घटनास्थल पुगेर चालकको सकुशल उद्धार गरेको थियो।


गम्भीर घाइते चालकलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीले जनाएको छ।
बसमा करिब २५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनामा घाइते भएका अन्य ९ जनालाई पनि उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ।
दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।