दमौली, असार ३२। व्यास नगरपालिका–२, दमौलीस्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले आर्थिक वर्ष २०८२/८३ मा पनि शतप्रतिशत ऋण असुली कायम गर्दै वित्तीय अनुशासन, सुशासन र सदस्यप्रतिको विश्वासलाई पुनः स्थापित गरेको छ।
सहकारीको कुल पूँजी ६ करोड रुपैयाँ, चुक्ता पूँजी २ करोड रुपैयाँ तथा ऋण लगानी ४ करोड रुपैयाँ पुगेको छ। हाल संस्थाबाट १७८ जना ऋणी सदस्य लाभान्वित भइरहेका छन्। ऋण लगानी उपसमितिका संयोजक सुरेश अधिकारीका अनुसार सदस्यहरूको आवश्यकता र क्षमताअनुसार व्यापारिक, घर, शैक्षिक, कृषि, वैदेशिक रोजगार, मुद्दती निक्षेप धितो, महिला उद्यमी तथा व्यक्तिगत कर्जा लगायतका विभिन्न सेवा प्रदान गरिँदै आएको छ।
प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राख्दै सहकारीले क्लाउड प्रणालीमार्फत मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, फोन–पे, खल्ती सेवातथा बजार प्रतिनिधिमार्फत ट्याब प्रयोग गरी बचत सङ्कलन जस्ता डिजिटल सेवा सञ्चालन गरिरहेको छ। संस्थामा हाल सात जना महिला कर्मचारी कार्यरत छन्।
संस्थाका अध्यक्ष विकल्प श्रेष्ठले डिजिटल प्रविधिको प्रयोगले सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र सदस्यमैत्री बनाएको बताए। संस्थाको यो सफलता सक्षम व्यवस्थापन, जिम्मेवार सदस्य तथा कर्मचारीहरूको समर्पण र सहकार्यको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रविधिमा आधारित सेवा विस्तारलाई निरन्तरता दिइने जानकारी दिए।
लेखा समितिका संयोजक अमर थापाका अनुसार सहकारीको सबैभन्दा गौरवपूर्ण उपलब्धि भनेको स्थापनाकालदेखि हालसम्म निरन्तर शतप्रतिशत ऋण असुली कायम रहनु हो।
संस्थाकी व्यवस्थापक निशा भण्डारीले सदस्य, कर्मचारी, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट, पारदर्शी र प्रविधिमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
वि.सं. २०७७ सालमा स्थापना भएको उद्यमशील बचत तथा ऋण सहकारीले नीति, विधि र प्रविधिलाई आत्मसात् गर्दै सदस्यहरूको हित र वित्तीय सुशासनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। साथै, स्वास्थ्य सेवा क्षेत्रलाई प्रभावकारी बनाउने उद्देश्यले अस्पताल सञ्चालनको तयारी समेत अघि बढाइएको संस्थाले जनाएको छ।
स्थापनादेखि नै वित्तीय अनुशासन, पारदर्शिता र सदस्यमैत्री सेवामा जोड दिँदै आएको उद्यमशील बचत तथा ऋण सहकारी आज तनहुँको सहकारी क्षेत्रको एक सफल, विश्वासिलो र अनुकरणीय संस्थाका रूपमा स्थापित हुन सफल भएको छ।


