तनहुँ, असार १० — बन्दीपुर गाउँपालिकाको १९औँ गाउँसभा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सुरु भएको छ। गाउँसभामा अध्यक्ष थापाले आर्थिक वर्ष २०८३/८४ का लागि २२२ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले आगामी आर्थिक वर्षका लागि बजेट वक्तव्य, विनियोजन विधेयक र आर्थिक ऐन प्रस्तुत गर्नुभएको छ।

गाउँसभामा ऊर्जा नीति विधायन समितिका संयोजक बलबहादुर गुरुङले ऊर्जा नीति तथा विपद् व्यवस्थापन ऐन पेश गर्नुभयो। यस्तै, सुशासन समितिका संयोजक तथा वडा नं. २ का अध्यक्ष तिलकबहादुर कुँवरले संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी प्रतिवेदन सभामा प्रस्तुत गर्नुभयो।

सभामा बन्दीपुर गाउँपालिका, बन्दीपुर अस्पताल तथा डुम्रे आधारभूत अस्पतालसँग सम्बन्धित विषयहरू पनि प्रस्तुत गरिएको थियो। लेखा समिति संयोजक एवं वडा नं. ५ का अध्यक्ष धुर्वप्रसाद लामिछानेले आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षणबाट देखिएका बेरुजु सम्बन्धी प्रतिवेदन सभामा पेश गर्नुभयो।

उपाध्यक्ष गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ६८ करोड ७८ लाख ८० हजार ८४९ रुपैयाँ ३० पैसा बराबरको अनुमानित बजेट पेश गर्नुभएको छ। प्रस्तुत बजेटमा संघीय सरकार, प्रदेश सरकार र आन्तरिक स्रोतबाट रु ६४ करोड ३८ लाख ८० हजार ८४९ रुपैयाँ ३० पैसा, अनिवार्य दायित्वतर्फ रु ४ करोड तथा लागत सहभागितातर्फ रु ४० लाख समावेश गरिएको छ।

बजेट विनियोजन अनुसार पूर्वाधार विकासतर्फ रु १३ करोड १२ लाख ८३ हजार २८० रुपैयाँ ३० पैसा, आर्थिक विकासतर्फ रु २ करोड ९५ लाख, सामाजिक विकासतर्फ रु ९ करोड ३८ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ७० लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु १३ करोड ४० लाख ९७ हजार ५ सय ६९ तथा छवटै वडाका पूर्वाधारसहित विभिन्न विषयगत कार्यक्रमतर्फ रु ४ करोड ५० लाख विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।