‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने मूल नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली, तनहुँको आयोजना तथा व्यास नगरपालिकाको सहयोगमा खाद्य स्वच्छता, गुणस्तर एवं सरसफाइ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
जिल्लाका विद्यालय तथा सरकारी कार्यालयका चमेना गृह सञ्चालक, दिवा खाजा व्यवस्थापनमा संलग्न व्यक्ति तथा होटल व्यवसायीहरूको सहभागिता रहेको कार्यक्रममा खाद्य सुरक्षासम्बन्धी विभिन्न विषयमा जानकारी प्रदान गरिएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योति आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख इन्द्रिरा दरै, होटल व्यवसायी संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा विलासी भट्टराई तथा गण्डकी प्रदेशका खाद्य निरीक्षण अधिकारी अशोक गौतमलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा खाद्य निरीक्षण अधिकारी अशोक गौतमले होटल तथा भान्साकोठा स्वच्छ र व्यवस्थित हुनुपर्ने मापदण्ड, खाद्य पदार्थको सुरक्षित भण्डारण, व्यक्तिगत सरसफाइ, शौचालय तथा स्नानगृहको अवस्था र व्यवस्थापन लगायतका विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो।
कार्यक्रममा खाद्यजन्य रोग न्यूनीकरण, सुरक्षित खानपानको प्रवर्द्धन तथा उपभोक्तालाई गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउने विषयमा विशेष जोड दिइएको थियो।


