पोखरामा शनिबार सम्पन्न जिल्ला क्रिकेट सङ्घ कास्कीको चौथो अधिवेशन तथा छैटौँ साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको छ।
कास्की क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यानका केन्द्रीय सदस्य सुदीप शर्मा, पूर्व अध्यक्ष दीपक कोइराला, पोखरा उद्योग वाणिज्य संघ का अध्यक्ष गोकर्ण कार्की तथा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तिलक बहादुर अधिकारी लगायतले कास्की क्रिकेटको प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सोही लयलाई निरन्तरता दिन सक्षम नेतृत्व आवश्यक रहेको धारणा राख्नुभएको थियो।
अधिवेशनमा सबै पदका लागि निर्वाचन भएको थियो। अध्यक्ष पदमा दीपेन्द्र प्रताप चन्द्र र दीपेश खत्री, उपाध्यक्ष पदमा वीरेन्द्र पुन र चन्द्रकुमार गुरुङ (जिम्मी), सचिव पदमा विजय राउत र कमल थापा तथा कोषाध्यक्ष पदमा दुर्गा बहादुर चन्द र बमबहादुर कुँवरबीच प्रतिस्पर्धा भएको थियो। सदस्य पदका लागि पनि निर्वाचन सम्पन्न भएको थियो।

निर्वाचनबाट अध्यक्षमा दीपेन्द्र प्रताप चन्द्र निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा चन्द्रकुमार गुरुङ (जिम्मी), सचिवमा विजय राउत तथा कोषाध्यक्षमा दुर्गा बहादुर चन्द निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा ऋषिकेश शर्मा पौडेल, गोविन्द प्रधान, देवेन्द्र प्रजु, विधान श्रेष्ठ, दीपक बराल, दिलीप अग्रहरी, आशिष बराल, भोजराज बराल, जयप्रकाश थापा, पूर्णचन्द न्यौपाने र गुना लुयाली निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष दीपेन्द्र प्रताप चन्द्रको नेतृत्वमा कास्की क्रिकेटको विकास, खेलाडी उत्पादन तथा जिल्लाको क्रिकेट गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।


