नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागका अरुण पौडेल ले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको अनुगमन तथा निरीक्षण गरेका छन्।
अनुगमनका क्रममा उनले कार्यालयको समग्र कार्यसम्पादन, ट्राफिक व्यवस्थापन, सेवा प्रवाह तथा अभिलेख व्यवस्थापनको अवस्थाबारे जानकारी लिएका थिए। साथै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, नागरिकमैत्री र प्रविधिमैत्री बनाउन आवश्यक निर्देशन समेत दिएका छन्।

निरीक्षण कार्यक्रममा ट्राफिक प्रहरी कर्मचारीहरूको उपस्थितिमा कार्यालयको भौतिक अवस्था, जनशक्ति परिचालन तथा सडक सुरक्षा सम्बन्धी गतिविधिबारे छलफल भएको थियो। प्रहरी नायब महानिरीक्षक पौडेलले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धिमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।


