पोखरा, जेठ । प्रा डा सुर्यमणि अधिकारी स्मृति प्रतिष्ठान पोखराले मानव सेवा आश्रममा भोजन सेवा प्रदान गरेको छ । आइतबार पोखराको हेम्जामा रहेको आश्रम परिसरमा भोजन सेवा प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको हो । इतिहासविद्, साहित्यकार र समाजसेवी प्रा डा सुर्यमणि अधिकारीको स्मृतिमा सो कार्यक्रम आयोजना गरिएको हो ।
आश्रमका दुई सय जनालाई भोजन सेवा प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकी अध्यक्ष इन्दिरा अधिकारी कोइरालाको अध्यक्षतामा सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा स्मृति प्रतिष्ठानका वरिष्ठ सल्लाहकार प्राडा दिलबहादुर क्षेत्रीले स्वर्गीय प्रा डा सुर्यमणि अधिकारीको स्मरण गर्दै वहाँका कृतिहरु सदैव जीवित रहेको बताए । स्वर्गीय प्रा डा अधिकारीको कलम युगौंयुगसम्म रहिरहने बताउँदै उनले आदरणीय गुरुको स्मृतिमा प्रतिष्ठानले पुण्य कार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।
सोही कार्यक्रममा प्रतिष्ठानका संरक्षक कपिलनाथ कोइरालाले प्राडा सूर्यमणिले इतिहास, समाजसेवा, संस्कृति र समग्र नेपाली जनजीवनकै उत्थानका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको बताए । स्वर्गीय अधिकारीका कामहरुको स्मरण गर्नका लागि प्रतिष्ठान गरेको गरेको उनले जानकारी दिए । प्रतिष्ठानले विभिन्न विधामा राष्ट्यिस्तरका प्रतिभाहरुलाई पुरस्कृत गर्ने गरेको पनि उनको भनाइ छ ।

प्रतिष्ठानकी अध्यक्ष इन्दिरा अधिकारी कोइरालाले आगामी दिनमा संस्थाकातर्फबाट मानव सेवा आश्रममा सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा प्रतिष्ठानका सदस्य शंकर खरालले स्वर्गीय अधिकारीका योगदानका बारेमा चर्चा गरेका थिए ।
भोजन सेवा प्रदान कार्यक्रममा आश्रमकी संरक्षक तथा पोखरा उद्योग वाणिञ्य संघकी महासचिव शोभा गौतम, प्रतिष्ठानका कोषाध्यक्ष डा बाबुराम अधिकारी, सदस्यद्धय रविन्द्र माकाजू र इञ्जिनियर सृजन कोइरालाको उपस्थिति रहेको थियो ।
स्व प्राडा सूर्यमणि अधिकारी चितवन जिल्लाबाट पहिलो पटक विद्यावारिधी गर्ने व्यक्ति हुन् ।
उनका योगदानलाई चीरस्थायी बनाउन उनका सन्तान, आफन्त र शुभेच्छुकले २०७५ सालमा प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान गठन गरेका हुन् । तत्कालीन पोखरा नगरपालिकामा पनि सेवा गरेका अधिकारी पछिल्लो समय चितवनमा बसोबास गर्थे । इतिहासविद्, साहित्यकार र समाजसेवीका रुपमा परचिति अधिकारीका २ दर्जन कृति र १ सयभन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित छन् । उनको मृत्यु ०६२ जेठ १२ गते भएको थियो । बाबुको सम्झनामा उनकी छोरी इन्दिरा अधिकारी कोइरालाले अक्षयकोष स्थापना गरेकी हुन् ।
प्रतिष्ठानले इतिहास, भाषा, साहित्य, धर्म, संस्कृति, सामाजिक सेवा, परोपकार तथा लोककल्याणकारी क्षेत्रमा कार्य गर्दै आएको छ ।
यसैगरी मानवसेवा आश्रम घरपरिवार र आफन्तविहीन भई खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी सडकआश्रितका लागि समर्पित गैर नाफामूलक सामाजिक संस्था हो ।
आश्रमले नेपालको सातै प्रदेशका १९ जिल्लामा २३ ओटा सेवा केन्द्र सञ्चालन गरी ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार एवं तीनको मानवोचित व्यवस्थापन गराउँदै आइरहेको छ ।



