तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारस्थित पृथ्वीराजमार्गमा शुक्रबार दिउँसो पृथ्वी समितिको ग २ ख १८३६ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २९ जना घाइतेलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ।
पोखराबाट भैरहवा जाँदै गरेको बसका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो र घाइतेहरूको उद्धार गरिएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा म्याग्दे गाउँपालिका–१ की ६५ वर्षीया जसमाया सुनारको घटनास्थलमै मृत्यु भएको हो भने अर्की एक अन्दाजी ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु घोषणा गरिएको छ।
दुर्घटनामा ३२ जना यात्रु घाइते भएका थिए, जसमध्ये ३ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने २९ जनालाई पोखरास्थित अन्नपूर्ण र मणिपाल अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये केहीको टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
बस चालक तेजकुमार शाहीसमेत घाइते भएका छन्। दुर्घटनाको कारण र थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।



