काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्काविरुद्ध जारी गरिएको पक्राउ पूर्जी र म्याद थप कानुनसम्मत नदेखिएको ठहर गर्दै उनलाई हिरासतबाहिर बसेर अनुसन्धान गर्न सकिने निर्णय गरेको हो।

खड्कालाई थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी विनिता थापाले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्। उनले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर पुष्टि नभएको अवस्थामा प्रतिशोधपूर्वक पक्राउ गरिएको दाबी गरेकी थिइन्।

यसअघि भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा खड्काको निवासबाट ठूलो परिमाणमा विदेशी मुद्रा बरामद भएको थियो। उक्त रकमको स्रोतबारे शंका उठेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मार्फत पक्राउ पूर्जी जारी गरिएको थियो।

तर सर्वोच्च अदालतले खड्कालाई हिरासतमा राख्दा आवश्यक कानुनी प्रक्रिया पूरा नगरिएको ठहर गरेको छ। अदालतका अनुसार पक्राउ पूर्जी विधिसम्मत रूपमा जारी भएको देखिएन, म्याद थप गर्दा मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित नगराइएको र हिरासतमा राख्नुपर्ने स्पष्ट आधारसमेत उल्लेख गरिएको थिएन।

अदालतले आदेशमा भनेको छ कि खड्कामाथिको अनुसन्धान हिरासतबाहिर बसेर नै गर्न सकिने प्रकृतिको देखिएको छ। साथै, आवश्यक परे सम्बन्धित अदालतको अनुमति लिएर मात्र विदेश जान दिनु पर्ने शर्तसहित तत्काल थुनामुक्त गर्न आदेश जारी गरिएको छ।


🔎 मुख्य बुँदाहरू:

  • सर्वोच्चको आदेशपछि दीपक खड्का थुनामुक्त हुने
  • पक्राउ पूर्जी र म्याद थप कानुनसम्मत नभएको ठहर
  • हिरासतबाहिर बसेर अनुसन्धान गर्न सकिने निष्कर्ष
  • विदेश जानुअघि अदालतको अनुमति लिनुपर्ने

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।