दार्चुला – दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ देखि वडा नम्बर १ छाङ्गरु सम्म घोरेटो बाटो निर्माणको काम अहिले धमाधम भइरहेको छ । चालु आर्थिक वर्षमा व्यास गाउँपालिकालाई अर्थ मन्त्रालयले ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरी चालु आर्थिक वर्षमै काम सम्पन्न गर्ने गरी काम गाउँपालिकाले टेन्डर आह्वान गरेको थियो ।
मिसन–देवहरि जेभी निर्माण कम्पनीले ठेक्का पाएर सात ठाउँबाट काम थालेको छ । भिर पाखा र अप्ठेरो ठाउँमा बर्सात भन्दा पहिले नै काम सम्पन्न गर्ने गरी काम भइरहेको गाउँपालिकाका इन्जिनियर जगत् डडालले जानकारी दिनुभयो ।
अहिले घाँटी बगर,माल्पा, दोपखे, तोला, गिरकिच्चे, बुदी, र अपीखोलामा पर्ने अप्ठेरो भिरपाखामा काम भइरहेको हो । माल्पा क्षेत्रको कामको जिम्मा लिएका स्थानीय जनक सिंह धामीले आफ्नो क्षेत्रमा रहेको काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो ।
समग्रमा झन्डै तीस किलोमिटर घोरेटो बाटो निर्माणको ७५ प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका इन्जिनियर डडालले जानकारी दिनुभयो । महाकाली किनारमा रहेको चट्टान खोपेर ज्यानको प्रवाह नगरी आरसिसी पुल तथा रेलिङ निर्माण हुदैँछ भने अन्य क्षेत्रमा बाटो मर्मतको काम भइरहेको छ ।
२०८२ जेठ ५ गते सम्झौता गरी काम थालेको देवहरि निर्माण सेवा कम्पनीले चालु आर्थिक वर्ष भित्रै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीका प्रमुख केशव बहादुर पालले जानकारी दिनुभयो ।