तनहुँ — शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित पृथ्वी राजमार्गमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा च्यवनधामका पुजारी गणेश खतिवडा र गाछेपानीका कृष्ण भुजेल रहेका छन्। दुर्घटनापछि घाइते अवस्थाबाट उद्धार गरी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्भाग्यवश, पुजारी खतिवडाको आजै जन्मदिन परेको थियो। दुर्घटनाभन्दा केही समय अघिसम्म सामाजिक सञ्जालमा उनलाई जन्मदिनको शुभकामना दिइरहेको देखिएको थियो।
प्रहरीका अनुसार पोखराबाट बेलचौतारातर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको पिकअप भ्यानले डिभाइडर पार गर्दै विपरीत दिशाबाट आउँदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा घाइते दुवै जनालाई तनहुँ सेवा अस्पताल दुलेगौंडा र गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरीले पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।