तनहुँ जिल्लाको व्यास नगरपालिका–५ मानुङकोटस्थित पोखरा मानुङकोट रिसोर्टमा गएराति करिब १ बजे आगलागी भएको छ।
व्यास नगरपालिका–१ विज्ञानचौरका शिव ताम्राकार र व्यास–६ बाह्रबिसे निवासी पूर्णबहादुर श्रेष्ठले संयुक्त रूपमा सञ्चालन गर्दैआएको टिनले बनेको एकतले रिसोर्टमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो।
आगलागीबाट मानवीय क्षति भने भएको छैन। तर लत्ताकपडा, मदिरा, किराना सामान तथा रिसोर्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ।साथै नगद रकम (खुल्न बाँकी) सहित करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा आगो करिब राति २:३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।



