केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेका युवा नेता मनराज गुरुङले आफ्नो राजनीतिक यात्राबारे धारणा सार्वजनिकगरेका छन्।
उनले राजनीति बुझ्न नपाउँदै माओवादी आन्दोलनमा जोडिएको स्मरण गर्दै समयको हरेक परिस्थितिलाई सामना गर्दै भुइँतहबाट पार्टीलेदिएको जिम्मेवारी पूरा गर्दै आएको बताए। पछिल्लो समय माओवादीले विचार त्यागेर ‘नेपाली कम्युनिस्ट पार्टी’ बनाएको भन्दै त्यहाँबसिरहनुको अर्थ नदेखिएको उनको भनाइ छ।
व्यक्तिगत सम्बन्धका आधारमा कुलमानजीको आग्रहमा कमिटी संयोजनको जिम्मेवारी स्वीकार गरेको उल्लेख गर्दै उनले कुलमानले पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी मा मिसाएपछि आफूलाई उपयुक्त नलागेको बताए। त्यसपछि उम्मेदवारी फिर्ता लिई सो पार्टीमा नलाग्ने निर्णय गरेको उनले स्पष्ट पारे।
वर्गहीन समाज निर्माणको संकल्प बोकेको युवा भएको नाताले वामपन्थी रुझान त्याग्न नसकेको उल्लेख गर्दै उनले कम्युनिस्टआन्दोलनको मूल प्रवाहमा फर्कने निधो गरेको बताए। विश्व कम्युनिस्ट आन्दोलन, भूराजनीतिक अवस्था, राष्ट्रियताको पक्षधरता र समयानुकूल संगठनात्मक आधारको तुलना गर्दा एमाले नै कम्युनिस्ट आन्दोलनको मूल प्रवाह भएको निष्कर्षसहित आफू एमालेमा समाहित भएको उनले बताए।
बीचको केही महिना आफ्नो व्यक्तिगत र राजनीतिक जीवनको स्मरणीय समय नरहेको उल्लेख गर्दै उनले बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी कम्युनिस्टहरूकै काँधमा रहेको बताए।
“आलोचना गरेर बस्ने होइन, आउनुहोस्—कम्युनिस्टहरूको ध्रुवीकरण अब तलबाट सुरु गरौँ,” उनले आह्वान गरेका छन्।



