तनहुँ — आदिकवि भानुभक्त क्याम्पस र आदिकवि भानुभक्त माध्यमिक विद्यालयको संयुक्त आयोजनामा आदिकवि भानुभक्त क्याम्पसदेखि छाब्दी बाराही मन्दिरसम्मको ६.२ किलोमिटर दूरीको तेस्रो मिनि म्याराथन भव्य रूपमा सम्पन्न भएको छ।
खेलकुद मार्फत स्वास्थ्य, अनुशासन र आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा तनहुँ, लम्जुङ, कास्की, पर्वत, बाग्लुङ, स्याङ्जा र गोरखा जिल्लाका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रम आदिकवि भानुभक्त क्याम्पस अतिरिक्त क्रियाकलाप समितिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा तथा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। स्वागत मन्तव्य क्याम्पस प्रमुख महाप्रसाद हडखलेले गर्नुभएको थियो।
म्याराथनमा ३७ विद्यालयका ३७५ जना विद्यार्थी सहभागी भएका थिए। छात्र र छात्रातर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा गरिएको प्रतियोगितामा छात्रतर्फ कमल विक (तनहुँ) प्रथम, विमल नेपाली (बाग्लुङ) दोस्रो र निशचल राना (पर्वत) तेस्रो भए। त्यस्तै छात्रातर्फ मनकुमारी लामा (पञ्चमुनी मावि, तनहुँ) प्रथम, सिम्रन थापा (लक्ष्मी आधारभूत विद्यालय, पर्वत) दोस्रो र विमला माया मानन्धर (जनजागृति मावि, हरिनास–४, स्याङ्जा) तेस्रो स्थान हासिल गर्न सफल भए।
प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई क्रमशः रु १५,०००, रु १०,००० र रु ५,००० नगद पुरस्कार प्रदान गरिएको थियो।
समापन कार्यक्रम व्यास नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रमेशचन्द्र हडखलेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखले, सञ्चालक समिति अध्यक्ष केशबहादुर सुनार, व्यास–१४ का वडा अध्यक्ष काजिमान श्रेष्ठ, समिति सदस्य मोहन गिरीलगायतले खेलकुदको महत्वबारे मन्तव्य व्यक्त गरे।
‘शिक्षादेखि आस्थासम्म’ भन्ने मूल नाराका साथ आयोजित उक्त मिनि म्याराथन छाब्दी बाराही मन्दिरको प्रचार–प्रसार, धार्मिक पर्यटन प्रवर्द्धन तथा विद्यार्थीहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ।



