दमौली । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ प्रतिनिधिसभा क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदका लागि सूर्यचन्द्र हड्खलेले उम्मेदवारी दिएका छन्।
हड्खलेलाई व्यास, भानु, बन्दीपुर, आँबुखैरेनी र देवघाटका विभिन्न प्रतिनिधिहरूको समर्थन रहेको बताइएको छ। उम्मेदवारीसँगै उनको पक्षमा प्रतिनिधिहरूको समर्थन बढ्दै गएको दाबी गरिएको छ।

लामो समयदेखि नेपाली कांग्रेसको संगठन तथा सामाजिक क्षेत्रमा सक्रिय हड्खलेले २०४२ सालको सत्याग्रहमा सहभागिता जनाएका थिए। २०४६ सालमा आदिकवि भानुभक्त क्याम्पसको नेपाल विद्यार्थी संघ इकाइ सदस्य रहेका उनी २०५३ सालमा स्ववियु सभापतिको जिम्मेवारीमा पुगेका थिए।
त्यस्तै, हड्खलेले दुई पटक ट्रेड युनियन कांग्रेस तनहुँको जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका छन्। २०६४ सालमा स्ववियु फोरम केन्द्रीय सदस्य तथा २०७० सालमा नेपाली कांग्रेस व्यास–१ को सभापति र आमन्त्रित जिल्ला सदस्यका रूपमा समेत उनले काम गरेका छन्।
शिक्षक सेवाबाट निवृत्त भएपछि शिक्षा, सहकारी तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका हड्खले पराशर कलेजको सञ्चालक समिति अध्यक्षका रूपमा समेत कार्यरत रहेर शैक्षिक गतिविधि सुदृढीकरणमा भूमिका खेलेको बताउँछन्। सत्यवती बचत तथा ऋण सहकारी संस्थालाई गण्डकी प्रदेशकै उत्कृष्ट सहकारी बनाउने अभियानमा समेत आफू सक्रिय रहेको उनको भनाइ छ।
त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखामार्फत रक्तदान, एम्बुलेन्स सेवा, विपद् उद्धार तथा राहतलगायतका सामाजिक सेवामा समेत योगदान गर्दै आएको हड्खलेले बताएका छन्।
क्षेत्रीय सभापतिको उम्मेदवारीसँगै हड्खलेले कांग्रेसको संगठनलाई थप व्यवस्थित, सक्रिय र मजबुत बनाउने योजनालाई प्राथमिकतामा राखेका छन्। स्थानीय तहसम्म संगठन विस्तार गर्ने, निष्क्रिय कार्यकर्तालाई पुनः सक्रिय बनाउने, कार्यकर्ताबीच समन्वय र एकता कायम गर्ने तथा युवा र नयाँ पुस्तालाई पार्टीको मूलधारमा जोड्ने उनको प्रतिबद्धता छ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउँदै नयाँ पुस्तालाई सक्रिय रूपमा पार्टीमा जोड्ने पहल गर्ने पनि हड्खलेले बताएका छन्।

हड्खलेले आफ्नो उम्मेदवारीको मुख्य आधारका रूपमा ‘अनुभव, नेतृत्व र समर्पण’लाई अघि सारेका छन्। ‘एकता, संगठन, विकास–समृद्ध तनहुँका लागि कांग्रेस’ भन्ने नारासहित उनले क्षेत्रीय सभापतिमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।


