दमौली । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ प्रतिनिधिसभा क्षेत्र नं. १ को सभापति पदका लागि सूर्यचन्द्र हड्खलेले आफ्नो उम्मेदवारी अघि सारेका छन्।

हड्खलेले सार्वजनिक गरेको उम्मेदवारीसम्बन्धी सामग्रीमा आफूले विद्यार्थी जीवनदेखि नै राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएको उल्लेख गरेका छन्। उनले २०४२ सालको सत्याग्रहमा सहभागिता जनाएको, २०४६ सालमा आदिकवि भानुभक्त क्याम्पसको नेपाल विद्यार्थी संघ इकाइ सदस्य तथा २०५३ सालमा स्ववियु सभापतिको जिम्मेवारी सम्हालेको बताएका छन्।

त्यस्तै, उनले दुई पटक ट्रेड युनियन कांग्रेस तनहुँको जिल्ला सभापति, २०६४ सालमा स्ववियु फोरम केन्द्रीय सदस्य तथा २०७० सालमा नेपाली कांग्रेस व्यास–१ को सभापति र आमन्त्रित जिल्ला सदस्यका रूपमा काम गरेको उल्लेख गरेका छन्।

शिक्षक सेवाबाट निवृत्त भएपछि शिक्षा, सहकारी तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको बताउँदै हड्खलेले पराशर कलेजको सञ्चालक समिति अध्यक्षका रूपमा शैक्षिक गतिविधि सुदृढीकरणमा भूमिका खेलेको उल्लेख गरेका छन्। साथै, सत्यवती बचत तथा ऋण सहकारी संस्थालाई गण्डकी प्रदेशकै उत्कृष्ट सहकारी बनाउने अभियानमा सक्रिय रहेको र महामन्त्री नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखामार्फत रक्तदान, एम्बुलेन्स, विपद् उद्धार तथा राहत सेवामा योगदान गर्दै आएको दाबी गरेका छन्।

क्षेत्रीय सभापतिको उम्मेदवारीसँगै हड्खलेले संगठनलाई थप व्यवस्थित, सक्रिय र मजबुत बनाउने, स्थानीय तहमा संगठन विस्तार गर्ने, निष्क्रिय कार्यकर्तालाई पुनः सक्रिय बनाउने, कार्यकर्ताबीच समन्वय र एकता कायम गर्ने तथा युवा र नयाँ पुस्तालाई पार्टीको मूलधारमा जोड्ने प्राथमिकता अघि सारेका छन्।

उनले पार्टी तथा नयाँ पुस्तालाई सक्रिय बनाउने पहल गर्ने र पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउने प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्।

हड्खलेले आफ्नो उम्मेदवारीको सन्देशमा “अनुभव, नेतृत्व र समर्पण” लाई मुख्य आधार बनाउँदै “एकता, संगठन, विकास–समृद्ध तनहुँका लागि कांग्रेस” भन्ने नारासहित क्षेत्रीय सभापतिमा दाबी प्रस्तुत गरेका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।