पोखरा। कास्कीको मादी गाउँपालिका–२, ताङतिङ गाउँमा होमस्टे महासंघ नेपालको आयोजनामा १० महिने दिगोपनमा आधारित सामुदायिक कोचिङ कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रम हाल छैटौँ महिनामा पुगेको छ।

स्वीस सरकारको सहयोगमा सञ्चालित उक्त परियोजनाले ताङतिङ गाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने होमस्टे महासंघ नेपालका महासचिव कृष्ण चौधरीले जानकारी दिए।

असोज ४ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने परियोजनाअन्तर्गत आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न सरोकारवाला तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति तिलकप्रसाद पुन ‘पुर्जा’ले आफूले करिब ५० वटा होमस्टेको अवलोकन गरेको अनुभव सुनाउँदै होमस्टे सञ्चालकहरूले ध्यान दिनुपर्ने विभिन्न विषयमा जानकारी दिएका थिए।

होमस्टे महासंघ नेपालका कोषाध्यक्ष सुरज बास्तोलाले कार्यक्रमको सहजीकरण गरेका थिए। बास्तोला नगरकोट सामुदायिक होमस्टेका अध्यक्षसमेत हुन्।

ताङतिङ गाउँमा दिगो पर्यटन प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणमा याे कार्यक्रमले थप टेवा पुग्ने विश्वास गरिएको छ। महासंघको पहलले स्थानीय महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन तथा नेतृत्व विकासमा समेत सहयोग पुगेको जनाइएको छ।

कार्यक्रममा होमस्टे महासंघ गण्डकीका उपाध्यक्ष तथा सुन्तलाबारी सामुदायिक होमस्टेका संयोजक मोहन खनाल र होमस्टे डटकमका सम्पादक विदुर पोखरेलले पर्यटकलाई गाउँमा कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए।

त्यस्तै, ताङतिङ पर्यटन परिषद्का भुपाल गुरुङ, सामुदायिक परिचालक गुमानध्वज गुरुङ, पर्यटन व्यवसायी गोविन्द गुरुङ तथा युवा पथप्रदर्शक टेकेन्द्र गुरुङले ताङतिङका पर्यटकीय सम्भावनाबारे चर्चा गरेका थिए।

होमस्टे महासंघ नेपालले ताङतिङमा आतिथ्यता, घरखर्च व्यवस्थापन, स्वास्थ्य तथा सरसफाइ र दिगो सामुदायिक पर्यटनसम्बन्धी क्षमता अभिवृद्धिका तालिमहरू प्रदान गर्दै आएको जनाएको छ।

पोखरा–काँहुखोलाबाट करिब २४ किलोमिटरको दूरीमा रहेको ताङतिङ गाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको छ। ताङतिङका १४ वटा सामुदायिक होमस्टे मुख्य रूपमा महिलाद्वारा सञ्चालित छन्।

महासंघले मादी गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र नेपाल पर्यटन बोर्डलगायतका निकायसँग समन्वय गरी ताङतिङलाई नमुना ग्रामीण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

ताङतिङका १४ वटा होमस्टे र ७ वटा स्थानीय होटलमा गरी करिब १०० जनासम्म पाहुना राख्न सक्ने सुविधा उपलब्ध रहेको छ। समुद्र सतहबाट करिब १ हजार ६६५ देखि १ हजार ६८५ मिटरको उचाइमा रहेको यो गाउँ लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा अवस्थित छ।

गुरुङ भाषामा ताङतिङलाई ‘तोनी नासा’ वा ‘ताउनी नासा’ भनिन्छ, जसको अर्थ ‘खुसी वा रमाइलो गाउँ’ भन्ने हुन्छ। गाउँमा दुई सयभन्दा बढी परम्परागत ढुंगाले छापेका तथा छाएका आकर्षक घरहरू रहेका छन्। यहाँ मौलिक गुरुङ संस्कृति, घाटु, सोरठी नाच तथा स्थानीय आतिथ्यताको अनुभव लिन सकिन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।