पोखरा । नेपाल प्रहरी प्रदेश कार्यालय, पोखरा, कास्कीमा कार्यरत महिला प्रहरी कर्मचारीका लागि सहज, सुरक्षित तथा कार्यमैत्री वातावरण सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको बालमैत्री कक्ष तथा स्तनपान कक्ष उद्घाटन गरिएको छ।

कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले उक्त कक्षको समुद्घाटन गर्नुभएको हो।

बालमैत्री कक्षमा बालबालिकाको सिकाइ, सिर्जनशीलता तथा मनोरञ्जनलाई ध्यानमा राखी स्मार्ट लेखन बोर्ड, नेपाली तथा अंग्रेजी वर्णमाला चार्ट, अङ्क तथा संख्यासम्बन्धी शैक्षिक सामग्री, बल तथा विभिन्न खेल सामग्रीलगायत उमेरअनुकूल शैक्षिक तथा मनोरञ्जनात्मक सामग्रीको व्यवस्था गरिएको छ।

नयाँ व्यवस्थाले महिला प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न थप सहज हुने तथा कार्यालयमा आउने बालबालिकाका लागि सुरक्षित, स्नेहपूर्ण र बालमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ।

महिला प्रहरी कर्मचारीको कार्यस्थलमा सहजता, बालबालिकाको हेरचाह तथा स्तनपानका लागि अनुकूल वातावरण निर्माण गर्ने उद्देश्यले गरिएको यो पहललाई महिला प्रहरीमैत्री कार्यस्थल निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।