दमौली, साउन २२ — तनहुँ कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य उपचारलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कारागार कार्यालय तनहुँ र प्रदेश अस्पताल दमौलीबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ।
सम्झौतामा प्रदेश अस्पताल दमौलीका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलामोहन वाग्ले, अस्पताल प्रमुख डा. परिवर्तन बराल तथा कारागार कार्यालय तनहुँका प्रमुख सुबास केसीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार उपचारका लागि कारागारबाट रेफर गरिएका कैदीबन्दीलाई प्रदेश अस्पताल दमौलीले आवश्यकताअनुसार आकस्मिक सेवा, बहिरंग (ओपीडी), अन्तरंग (भर्ना), प्रयोगशाला परीक्षण, शल्यक्रियालगायतका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।
यस्तै, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन, उपचार खर्च भुक्तानी र कैदीबन्दीको सुरक्षासम्बन्धी जिम्मेवारी पनि सम्झौतामै स्पष्ट गरिएको छ। कारागार कार्यालयले उपचारका लागि अस्पताल पठाइने कैदीबन्दीको सुरक्षा सुनिश्चित गर्नेछ भने अस्पतालले सम्झौताअनुसार आवश्यक स्वास्थ्य सेवा प्रदान गर्नेछ।
यो सम्झौता २०८३ साल साउन २२ गतेदेखि २०८४ साल असार मसान्तसम्म लागू रहनेछ। दुवै पक्षको आपसी सहमतिमा सम्झौता नवीकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ।
सम्झौताबाट कारागारमा रहेका कैदीबन्दीले समयमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने, उपचार प्रक्रियालाई थप व्यवस्थित बनाउने तथा उपचारका क्रममा देखिने व्यवहारिक समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


