तनहुँ, साउन १८ — नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीले ३२औँ विश्व आदिवासी जनजाति दिवस सप्ताहव्यापी कार्यक्रमका साथ मनाउने भएको छ।

खैरेनीटारमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक कार्यक्रमअनुसार दिवसको अवसरमा साउन १८ देखि २४ गतेसम्म विभिन्न जनचेतनामूलक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।

आयोजकका अनुसार साउन १९ गते सरसफाइ तथा वृक्षारोपण कार्यक्रम, २० गते वक्तृत्वकला प्रतियोगिता, २१ र २२ गते अन्तरक्रिया तथा छलफल, २३ गते पूर्वतयारी बैठक तथा साउन २४ गते शुक्लागण्डकी नगरपालिकाको खुला मैदानमा मूल समारोह आयोजना गरिनेछ।

मूल समारोहमा नगरभित्र रहेका ९ वटा जातीय संगठनहरूको सहभागितामा सांस्कृतिक झाँकी प्रदर्शन, विभिन्न जातीय कला–संस्कृतिको प्रस्तुति तथा रैथाने खानाका परिकारहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ।

विश्व आदिवासी जनजाति दिवसलाई भव्य, सभ्य र सहभागितामूलक रूपमा मनाउँदै आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।