दमौली, १० साउन — आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच संस्थागत सहकार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। व्यास नगरपालिका–३, दमौलीस्थित प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा समावेशी तथा डिजिटल पुस्तकालय निर्माणदेखि स्थानीय ज्ञान, भाषा र संस्कृतिको संरक्षणसम्मका विषयमा संयुक्त रूपमा काम गर्ने सहमति भएको हो।

प्रतिष्ठानका अध्यक्ष मनुमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार, प्रतिष्ठानका संरक्षक प्रतापलाल श्रेष्ठ तथा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले आर्थिक वर्ष २०८३/०८४ का लागि दुवै संस्थाको संयुक्त वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। उक्त कार्ययोजनालाई दुवै संस्थाका पदाधिकारीहरूले समर्थन गर्दै आ–आफ्नो वार्षिक योजनामा समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

सहमतिअनुसार दुवै संस्थाले समावेशी तथा डिजिटल पुस्तकालय निर्माण, प्रतिष्ठानको पुस्तकालयका लागि वेबसाइट, मोबाइल एप र सफ्टवेयर विकासमा क्याम्पसको BICTE विभागबाट प्राविधिक सहयोग, स्थानीय भाषा, संस्कृति, ज्ञान तथा सीपको संरक्षण र अभिलेखीकरण तथा राजनीतिक, शैक्षिक र आर्थिक विषयमा संयुक्त बहस कार्यक्रम सञ्चालन गर्नेछन्। साथै समुदायमा पठन संस्कृतिको विकासका लागि अभियान सञ्चालन गर्ने र संयुक्त रूपमा पुस्तकालय दिवस मनाउने निर्णय पनि गरिएको छ।

कार्यक्रममा क्याम्पसका सञ्चालक समिति सदस्य ईश्वरबहादुर बिष्ट, निर्मल पण्डित, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, पब्लिक क्याम्पस प्राध्यापक सङ्घ (नेपाल) क्याम्पस इकाई अध्यक्ष राजन घिमिरे तथा ईएमआईएस (EMIS) अफिसर गौरव पन्थको सहभागिता रहेको थियो।

प्रतिष्ठानका उपाध्यक्ष माधव अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण महासचिव नेत्र रानाभाटले गर्नुभएको थियो भने उपाध्यक्ष सिर्जना सिग्देलले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका उपमहासचिव विनोद कुमार बिक, सचिवहरू मदन तिमल्सेना र शिव सदाशंकर तथा कोषाध्यक्ष डम्बर विश्वकर्मालगायत पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।