पोखरा,  साउन ८ । प्रेस चौतारी नेपाल, कास्की शाखाले संस्थाका केन्द्रीय सदस्य तथा पत्रकार सुमन ढुङ्गानामाथि भएको दुर्व्यवहार र धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको तीव्र भर्त्सना गरेको छ।

प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार पोखरा महानगरपालिका वडा नम्बर ३३ मा रहेको नेपाल सरकारको स्वामित्वको दर्जानौँ रोपनी सार्वजनिक जग्गा अवैध रूपमा अतिक्रमण गरी ‘सेती रिभर साइड रिसोर्ट’ सञ्चालन गरिएको विषयमा पत्रकार ढुङ्गानाले तथ्य र प्रमाणसहित समाचार सम्प्रेषण गरेका थिए।

उक्त समाचार प्रकाशन तथा प्रसारण गरेकै निहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगर वडा नम्बर ३३ समितिका सभापति दिनेश आचार्यले पत्रकार ढुङ्गानालाई व्यक्तिगत म्यासेज पठाएर आपत्तिजनक शब्द प्रयोग गर्दै बारम्बार धम्की दिएको विज्ञप्तिमा उल्लेख छ।

प्रेस चौतारीले यस घटनालाई निन्दनीय, आपत्तिजनक र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भनेको छ। संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हकमाथि आघात पुर्‍याउने यस्ता आपराधिक तथा अराजक गतिविधि सह्य नहुने चेतावनीसमेत विज्ञप्ति मार्फत दिइएको छ।

आचार्यको अमर्यादित र गैरकानुनी व्यवहारको घोर भर्त्सना गर्दै दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनको दायरामा ल्याउन सम्बन्धित निकायसमक्ष चौतारीले जोडदार माग गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।