जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आउने सर्वसाधारणले लामो समयदेखि लामो लाइन, भीडभाड र अस्तव्यस्त व्यवस्थापनका कारण सास्ती भोग्दै आएको गुनासोपछि तनहुँ क्षेत्र नं. २ का सांसद ई. श्रीराम न्यौपानेले कार्यालयको निरीक्षण गर्नुभएको छ।

निरीक्षणका क्रममा उहाँले सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिनुभयो। साथै, कार्यालयका कर्मचारीसँग पनि सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन आवश्यक पहल गर्न आग्रह गर्नुभयो।

उक्त अवसरमा सांसद न्यौपानेले सर्वसाधारणले सहज, छिटोछरितो र गुणस्तरीय सेवा पाउने वातावरण बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


