रानीगाउँ डिप बोरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। दुई दिनसम्म चलेको अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।

समितिको अध्यक्ष पदका लागि विष्णु पोखरेल (राजु) र तोयानाथ पौडेलबीच निर्वाचन भएको थियो। १४४ घरधुरी रहेको निर्वाचनमा १३२ घरधुरीले मतदान गरेका थिए। खसेको १३२ मतमध्ये विष्णु पोखरेल (राजु) ले १०१ मत प्राप्त गरी अत्यधिक मतका साथ विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी तोयानाथ पौडेलले १७ मत प्राप्त गर्नुभयो भने १४ मत बदर भएको थियो।

त्यसैगरी उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शिवराज न्यौपाने, कोषाध्यक्षमा संगीता भट्ट, सदस्यहरू रामहरि भट्टराई, विष्णुहरि गौली, उमाराज नहर्की, सुस्मिता दरै र केशु बयलकोटी निर्विरोध चयन हुनुभएको छ।

कार्यक्रममा व्यास नगरपालिका–११ का वडा सदस्य रामकृष्ण अधिकारीले नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण कार्यसमितिलाई टीका तथा खादा लगाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

निर्वाचन मण्डलका संयोजक तीर्थ भट्ट , सदस्यहरू उदय अधिकारी र कृष्णप्रसाद तिवारीको नेतृत्वमा निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो।

निर्वाचनमा पराजित अध्यक्ष पदका उम्मेदवार तोयानाथ पौडेलले आफू पराजित भए पनि संस्थाको विकास र प्रगतिका लागि सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण कार्यसमितिलाई बधाई र सफल कार्यकालको शुभकामना दिनुभयो।

नवनिर्वाचित अध्यक्ष विष्णु पोखरेल (राजु) ले उपभोक्ताहरूले आफूलाई दिएको विश्वासप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “तपाईंहरूले ममाथि देखाउनुभएको विश्वासप्रति म सधैं ऋणी रहनेछु। म सेवा गर्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ, त्यसैले कुनै पनि उपभोक्तिप्रति विभेद नगरी सबैलाई समान रूपमा सेवा गर्नेछु। यदि कुनै कमी–कमजोरी भएमा आफ्नै भाइ–छोरा सम्झेर सचेत गराइदिनुहोस्।”

उहाँले नयाँ कार्यसमितिले कुनै भेदभाव नगरी सम्पूर्ण उपभोक्ताको हितमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।