तनहुँको व्यास नगरपालिका–५ स्थित द नाइन्टिज युवा क्लबका युवाहरूले श्रमदानमार्फत स्थानीय सडक मर्मत गरेका छन्।
सडकमा खाल्डाखुल्डी बढ्दै गएपछि आवतजावतमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम बढ्न थालेको भन्दै क्लबका सदस्यहरू स्वयं अग्रसर भई सडक मर्मत कार्यमा जुटेका हुन्।

श्रमदान अभियानअन्तर्गत सडकका खाल्डाखुल्डी ढलान गरेर पुर्ने, सडक सम्याउने तथा नाली सफा गर्ने काम गरिएको क्लबले जनाएको छ।

वर्षायामका कारण सडक थप जीर्ण बन्दै गएको र सम्बन्धित निकायबाट तत्काल मर्मत हुन नसकेपछि युवाहरूले आफ्नै पहलमा सडक सुधार अभियान सञ्चालन गरेका हुन्। यसबाट स्थानीय बासिन्दा तथा दैनिक रूपमा सडक प्रयोग गर्ने यात्रुलाई सहजता भएको बताइएको छ।
क्लबका अध्यक्ष एक कुमार श्रेष्ठका अनुसार सडकको दीर्घकालीन स्तरोन्नतिका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने आवश्यकता रहेको छ। स्थानीयवासीले पनि युवाहरूको सामाजिक उत्तरदायित्व र सक्रियताको प्रशंसा गर्दै यस्ता अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।


