तनहुँ, असार २२ — तनहुँकी स्थायी बासिन्दा तथा सफल उद्यमी शोभा गुरुङ नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २६औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्।
गलैँचा उद्योगमा तीन दशकभन्दा लामो अनुभव बोकेकी गुरुङले २०४८ सालदेखि आफ्नो व्यावसायिक यात्रा सुरु गरेकी हुन्। उनले उत्पादन गरेका नेपाली गलैँचा युरोप, अमेरिका लगायतका अन्तर्राष्ट्रिय बजारमा निर्यात हुँदै आएका छन्। हाल टोखा नगरपालिकामा रहेको उनको उद्योगमा करिब २०० जना श्रमिक कार्यरत छन्।
उद्योग व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय गुरुङले २०६४ सालमा महासङ्घको महिला उद्यम समितिमार्फत संस्थागत नेतृत्वमा प्रवेश गरेकी थिइन्। त्यसयता महासङ्घका विभिन्न जिम्मेवारी सम्हाल्दै उनी केन्द्रीय अध्यक्षको नेतृत्वमा पुगेकी हुन्।
निर्वाचनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अध्यक्ष गुरुङले उद्यमीमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरिन्। उनले उद्योग सञ्चालन गरिरहेका व्यवसायीलाई त्रसित बनाउने होइन, सहज वातावरण सिर्जना गर्दै उनीहरूको जायज माग सम्बोधन गर्नुपर्ने बताइन्।
उनले महासङ्घको ९७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने तथा प्रत्येक प्रदेशबाट महिला र पुरुष गरी तीन–तीन जनाको प्रतिनिधित्व सुनिश्चित गरिने जानकारी पनि दिइन्।
तनहुँबाट राष्ट्रियस्तरको प्रतिष्ठित व्यावसायिक संस्थाको नेतृत्वमा पुगेकी गुरुङको निर्विरोध चयनलाई जिल्लाका उद्योगी, व्यवसायी तथा स्थानीयवासीले गौरवको उपलब्धिका रूपमा लिएका छन्।


