दमौली, तनहुँ। जिल्ला क्रिकेट संघ तनहुँको आयोजनामा सम्पन्न प्रथम विद्यालयस्तरीय छात्रा क्रिकेट प्रतियोगिताको उपाधि आदिकवि भानुभक्त सेकेन्डरी स्कुलले जितेको छ।
बानबाटिका क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा रामज्योति बोर्डिङ स्कुलले दिएको ४८ रनको लक्ष्य आदिकवि भानुभक्त सेकेन्डरी स्कुलले ६ विकेटको क्षतिमा पूरा गर्दै उपाधिमाथि कब्जा जमाएको हो।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आदिकवि भानुभक्त सेकेन्डरी स्कुलकी कप्तान मन्दिरा पाण्डे ‘म्यान अफ द म्याच’ घोषित भइन्।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेनाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे उपस्थित थिए। त्यसैगरी गण्डकी प्रदेश क्रिकेट संघका कोषाध्यक्ष दिवाकर थापा, जिल्ला क्रिकेट संघ तनहुँका पूर्व अध्यक्ष ताराराम श्रेष्ठ लगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।


तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता टोलीलाई मेडल र प्रमाणपत्र प्रदान गरियो।
समापन समारोहलाई सम्बोधन गर्दै जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेनाले विद्यालयस्तरीय छात्रा क्रिकेट प्रतियोगिताले तनहुँमा महिला क्रिकेट खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले हालसम्म तनहुँबाट महिला क्रिकेट खेलाडीको पर्याप्त सहभागिता हुन नसकेको उल्लेख गर्दै जिल्लामै पहिलो पटक विद्यालयस्तरीय छात्रा क्रिकेट प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।


उनले यसअघि जिल्ला क्रिकेट संघ तनहुँले विद्यालयस्तरीय छात्र क्रिकेट प्रतियोगिता तथा तनहुँ कप क्लबस्तरीय क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको उल्लेख गर्दै आगामी दिनमा पनि क्रिकेटको विकास र विस्तारका लागि निरन्तर कार्यक्रम सञ्चालन गरिने बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।