दमौली, तनहुँ |

जिल्ला क्रिकेट संघ तनहुँको आयोजनामा विद्यालयस्तरीय छात्रा क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। वनबाटिका खेल मैदानमा सुरु भएको प्रतियोगितामा जिल्लाका तीन विद्यालयको सहभागिता रहेको छ। प्रतियोगितामा रामज्योति बोर्डिङ स्कुल, आदिकवि भानुभक्त स्कुल र सत्यवती माध्यमिक विद्यालय सहभागी छन्।

प्रतियोगिताको पहिलो खेलमा रामज्योति बोर्डिङ स्कुल र सत्यवती माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक खेलमा सत्यवती माध्यमिक विद्यालयले ३ रनको झिनो अन्तरले विजय हासिल गरेको छ।

त्यसैगरी दोस्रो खेलमा आदिकवि भानुभक्त स्कुल र सत्यवती माध्यमिक विद्यालय आमनेसामने भएका थिए। उक्त खेलमा आदिकवि भानुभक्त स्कुलले ७ विकेटको शानदार जित दर्ता गरेको छ।

प्रतियोगिताको उद्घाटन जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेनाले अम्पायरलाई बल हस्तान्तरण गर्दै गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष तिमल्सेनाले तनहुँमा महिला क्रिकेट खेलाडीको संख्या न्यून रहेकाले नयाँ महिला खेलाडी उत्पादन गर्ने र छात्राहरूमा क्रिकेटप्रति आकर्षण तथा उत्साह बढाउने उद्देश्यले विद्यालयस्तरीय छात्रा क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

उहाँले जिल्ला क्रिकेट संघ तनहुँले यसअघि विद्यालयस्तरीय छात्र क्रिकेट प्रतियोगिता तथा खुला क्लबस्तरीय तनहुँ कप समेत सफलतापूर्वक आयोजना गरिसकेको जानकारी दिनुभयो।

प्रतियोगिता लिग चरणका आधारमा सञ्चालन भइरहेको छ। प्रतियोगिताको फाइनल खेल असार २० गते बिहान १० बजे वनबाटिका खेल मैदानमा हुने आयोजकले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।