तनहुँ, असार ९ — व्यास नगरपालिकामा सञ्चारकर्मीसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
“स्वदेशमै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने मूल नारासहित व्यास नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र जिल्लाका सक्रिय सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमकी जिल्ला संयोजक लुना रानाले २०७६ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको सामी कार्यक्रममार्फत वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाहरूको उद्धार, परामर्श, स्वदेश फिर्ता, ठगीमा परेका श्रमिक तथा तिनका परिवारलाई सहयोग, वित्तीय साक्षरता अभिवृद्धि तथा वडा–वडामा आप्रवासी सञ्जाल गठन गरी सुरक्षित वैदेशिक रोजगार प्रवर्द्धन गर्ने काम भइरहेको जानकारी दिनुभयो।

अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सञ्चार क्षेत्रले खेल्न सक्ने भूमिकाबारे समेत छलफल गरिएको थियो।


